• ३१ वैशाख २०८२, बुधबार

गाई काटेको अभियोगमा एक पक्राउ

blog

साहारा लिम्बू

फुङलिङ, वैशाख ३१ गते । ताप्लेजुङमा गाई काटेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । फक्ताङलुङ गाउँपालिका –१ सावादिनका ३९ वर्षीय दावा नुर्वू शेर्पालाई गाई र गोरु काटेको अभियोगमा पक्राउ गरिएको हो । 

छिमेकी पेम्बा शेर्पाको घर छेउमा बाँधेर राखेको गाई र गोरुलाई काटेको जाहेरीको आधारमा दावा नुर्वुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता, सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार दावा नुर्वुले सोमबार बिहान करिब साढे ६ बजेको समयमा धारिलो हतियार फलामको बाम्फोक प्रहार गरेका थिए । हतियार प्रहारबाट गाई मरेको र गोरु घाइते अवस्थामा रहेको प्रहरीको भनाइ छ । 

जाहेरी पश्चात खोजी गर्ने क्रममा दावा नुर्वुलाई बामफोकसहित मङ्गलबार नियन्त्रणमा लिइएको बताइएको छ । उनलाई पशुपक्षीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ । मुलुकी फौजदारी कार्यबिधी संहिता २०७४ को दफा १४ को ३ बमोजिम जिल्ला अदालतबाट सात दिनको म्याद लिइ अनुसन्धानलाई जारी राखिएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।