गाेरखापत्र अनलाइन
काठमाडौं, वैशाख ३१ गते । ‘के घर के डेरा : घर नं २’को अग्रिम टिकट बुकिङ खुला भएको छ । जेठ २ गते रिलिज हुने चलचित्रको मंगलबार साँझदेखि अग्रिम टिकट बुकिङ खुला भएको हो ।
चलचित्रले उच्च शो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंमा २५ शो पाएको छ । यस्तै, काठमाडौं उपत्यका बाहिर २२ शो पाएको छ । क्यूएफएक्सका आउटलेटमा ४७ शो पाएको छ ।
आइएनआईले आफ्ना चार वटा आउटलेटमा १५ शो दिएको छ । वान सिनेमाजले कालीमाटीको आउटलेटमा चार शो दिएको छ । एफक्यूबले चार शो उपलब्ध गराएको छ ।
यस्तै हाराहारीमा अन्य मल्टिप्लेक्सले ‘के घर के डेरा : घर नं २’लाई शो उपलब्ध गराएका छन् । चलचित्र वितरक करण श्रेष्ठका अनुसार केही हलहरूले शो खोल्ने बाँकी रहेको जानकारी दिनुभयाे । उहाँका अनुसार आज र भोलि बिहान सम्ममा देशभरका हलहरूको शो यकिन तथ्याङ्क आउनेछ ।
दीपेन्द्र के खनालले निर्देशन गर्नुभएकाे चलचित्र ‘के घर के डेरा : घर नं २’ जेठ २ गते रिलिज हुँदै छ । राम्रो हाइप बनाएको सिनेमाले आक्रामक व्यापार गर्ने निर्माणपक्षको विश्वास छ ।
चलचित्रमा खगेन्द्र लामिछानेसँगै निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्ट लगायत कलाकारको अभिनय छ ।
चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेख्नुभएकाे हाे । चलचित्रका कृष्णबहादुर थापाको छायांकन रहेको छ भने कार्यकारी निर्माताको रूपमा युवराज कार्की हुनुहुन्छ । निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन हुनुहुन्छ ।