काठमाडौँ, वैशाख ३१ गते । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले विपद्को पूर्वतयारीमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्र्नुहुँदै उहाँले विपद् तयारीमा जुट्न सरकारसँग आग्रह गर्नुभएको हो ।
उहाँले प्रि मनसुन सुरु भएको र राजमार्गमा त्रास रहेको बताउनुभयो । उहाँले वैशाख १ देखि २८ गतेसम्मको तथ्याङ्क हेर्दा ७३२ वटा विपद्का घटनाहरु भएकोमा २१ जनाको मृत्यु हुनुका साथै १७ करोड बराबरको क्षति भएको जानकारी दिनुभयो ।
सरकारका आपसी निकायहरुका बिचमा समन्वय नहुँदा विपदको उद्धार र व्यवस्थापनमा ढिला भइरहेको उहाँको भनाइ छ ।
‘‘प्रि मनसुन सुरु भएको छ । राजमार्गमा त्रास छ । नागरिकको सडकमै बास छ । वैशाख १ देखि २८ गतेसम्मको डाटा हेर्ने हो भने ७३२ वटा विपदका घटनाहरु भए । २१ जनाका मृत्यु भयो । अनुमानित १७ करोडको क्षति हुन पुग्यो ।,’’ सांसद सापकोटाले भन्नुभयो, ‘‘सरकारका आपसी निकायहरुका बिचमा समन्वय नहुँदा विपदको उद्धार र व्यवस्थापनमा ढिला भइरहेको छ । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने खोप्लाङमा सडक भासिएका कारण पूर्णरुपमा बन्द भएको छ ।’’
सांसद सापकोटाले चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने खोप्लाङमा सडक भासिएका कारण पूर्णरुपमा बन्द भएको बताउँदै तातोपानीबाट ल्याइएका स्याउ, लसुनलगायत बोकेका ३० वटा कन्टेनर र पाँच सयभन्दा बढी विद्युतीय सवारीसाधन तातोपानी क्षेत्रमा अलपत्र परेको बताउनुभयो ।