• ३१ वैशाख २०८२, बुधबार

मयुँ खोलाको पुल मर्मत गरिँदै

blog

मयुँ खोलाको पुल मर्मत गरिँदै ।

प्रेम अधिकारी 

पशुपतिनगर(इलाम), वैशाख ३१ गते । इलामको फिक्कल–नयाँ बजार सडक खण्डमा पर्ने मयुँ खोलाको पुल भाँचिएपछि स्थानीय पालिकाको पहलमा मर्मतको काम सुरु गरिएको छ । केहि दिनअघि पुल भाँचिएपछि माईजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकाको पहलमा मर्मतको काम सुरु गरिएको हो । 

पुल भाँचिएर यातायत सञ्चालनमा अवरोध भएपछि तत्काल यातायत सञ्चालन गर्नेगरी पुल मर्मत गर्नका लागि दुबै पालिकाले पाँच, पाँच लाख रुपियाँ छुट्याएका थिए । जनप्रतिनिधि र प्राविधिकले भाँचिएको पुलको अनुगमन गरी तत्काल मर्मत गर्ने निर्णय गरेको माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईले जानकारी दिनुभयो । उहाँले भन्नु भयो, ‘नागरिकलाई समस्या आउन नदिनका लागि दुबै पालिकाको समन्वयमा जति सक्दो छिटो पुल मर्मत गरी यातायत सञ्चालनका लागिरहेका छौं ।’

पुल मर्मतको काम सम्पन्न नहुन्जेल सम्मका लागि पुलभन्दा तलतिरको खोलालाई फिजाइएको छ । जेसीबीले खोला फिजाएर यातायत सञ्चालन गर्नका लागि सहज बनाइएको सूर्योदय नगरपालिका विपद व्यवस्थापन समितिका संयोजक राजकुमार लिम्बुले जानकारी दिनुभयो । 

पुल भाँचिएपछि १० लाख रकमले नपुग्ने भएका कारण प्राविधिक स्टिमेट हेरी दुबै पालिकाले रकम थप गर्नेगरी काम थालिएको सूर्योदय नगरपालिकाका उप प्रमुख दुर्गाकुमार बरालले जानकारी दिनुभयो । "यो पुल निर्माणको काम कोशी प्रदेश सरकारले गर्नुपर्ने तर प्रदेशले ध्यान दिएन, यस्तो अवस्थामा टुलुटुलु हेरर बस्न सकिएन, दुई पालिका मिलेर काम थाल्यौं," उपप्रमुख बरालले भन्नुभयो । 

प्राविधिक निरीक्षणपछि पुलको एकापट्टीको भाचिएको भाग मर्मत तथा निर्माणका लागि २० देखि २५ लाख रुपियाँ अनुमानित रकम लाग्ने सूर्योदय नगरपालिकाका इन्जिनियर कविन सापकोटाले जानकारी दिनुभयो । 

इन्जिनियर सापकोटाले ग्याबिन वाल, प्रोटेक्सन, पिल्लर बिमसहितको र स्ल्याब हाल्नु पर्ने जानकारी दिनुभयो । मर्मत गरेर तत्काल यातायत सञ्चालन गरिए पनि अहिलेको मर्मतले मात्र दिर्घकालिन समाधान दिन नसक्ने इन्जिनियर सापकोटाले जानकारी दिनुभयो । 

उक्त क्षेत्रका कोशी प्रदेश सांसद खिनु लङवा लिम्बूले प्रदेश सरकारले मयुँ खोलामा पक्की पुल निर्माणका लागि बहुवर्षे योजनाबाट काम थाल्न यसअघि नै डिपिआर गरिसकेको जानकारी दिनुभयो । बहुवर्षे योजनाबाट पुल निर्माणका लागि प्रदेशको अर्थ मन्त्रालयबाट श्रोत सुनिश्चत गरीएको निर्णय हुन बाँकी रहेको जानकारी दिनुभयो । दुबै पालिकाले पुल निर्माणका लागि पहल गर्न प्रदेश सांसद लिम्बूलाई ध्यानाकर्षण गराएका छन् । 

केहि वर्ष अघिको बाढीले पक्की पुलको एक भाग बगाएपछि अस्थाई संरचना निर्माण गरिएको थियो । उक्त अस्थाई संरचना समेत भाँचिएपछि यातायत सञ्चालनमा समस्या भएको छ । फिक्कल–नयाँबजार सडक कोशी प्रदेश सरकारको लगानीमा ट्रयाक खोलिएको छ दशकपछि डेढ वर्षअघि मात्र कालोपत्रे गरीएको थियो । पुल भाँचिएपछि खोलाबाट यातायतका साधन आउजाउ गर्नुपर्ने भएको छ । 

पानी नपर्दा खोलाबाट सवारी आउजाउ भए पनि पानी परेर खोला बढेपछि सवारी आउजाउ बन्द हुने अवस्थामा पुगेको छ । उक्त सडक भएर माईजोगमाई गाउँपालिकाको नयाँबजार, नामसालिङ, सोयाङ, प्याङ, जोगमाई र सूर्योदय नगरपालिका १ गोर्खे सहितका क्षेत्रमा दैनिक रूपमा सयौ सवारी साधन सञ्चालन हुने गरेका छन् । 

गोर्खेका व्यवसायी अमृत पाण्डेले पुलको तत्काल मर्मत गरिएपनि दिर्घकालिन समाधानका लागि पक्की पुल बन्नुपर्ने बताउनुभयो । फिक्कल नयाँ बजार सडककै सूर्योदय नगरपालिका ९ ढोडेमा गत वर्षको बाढीले सडकमा पहिरो गएको छ । उक्त सडक मर्मत नगरिए यस पटकको बर्खामा उक्त सडक भएर सवारी सञ्चालनमा समस्या हुने भएको छ ।