कोशी प्रदेशको पहाडी जिल्ला पाँचथरमा निर्माणका लागि प्रस्ताव गरिएको ७६२ मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजना कार्यान्वयनमा आए पूर्वी क्षेत्रको विकासका थप सम्भावना खुल्ने थिए । अध्ययनका क्रममा रहेको यो आयोजना सञ्चालनमा आउँदा कोशी प्रदेशको कुल विद्युत् मागलाई सहजै धान्ने देखाएको छ । कोशी प्रदेशकै हिमाली जिल्ला ताप्लेजुङमा बग्ने विभिन्न नदी र खोलाको पानी मात्रै उपयोग गर्दा पनि मुलुकभरको बिजुलीको माग धान्ने गरी ऊर्जा उत्पादन हुने सम्भावना औँल्याइएको छ ।
ऊर्जा मन्त्रालयको तथ्याङ्क अनुसार ताप्लेजुङका खोला, नदीबाट एक हजार ४३८ मेगावाट विद्युत् उत्पादनका लागि सरकारले केही कम्पनीलाई अध्ययन र कतिपयलाई निर्माणको अनुमति दिइसकेको छ । हालसम्म ताप्लेजुङको सुपर काबेली हाइड्रोपावरबाट १२, इस्टर्न रिभरबाट १३.५, फावाखोला सिवानी हाइड्रोबाट पाँच र अप्पर फावाबाट ५.८ मेगावाट गरी कुल ४० मेगावाट बिजुली उत्पादन भएर केन्द्रीय प्रसारण लाइनमा जोडिइसकेको छ । यस्तै पाँचथरबाट माउन्टेन हाइड्रोबाट २२.९, पाँचथर पावर कम्पनीबाट १५.९, इङ्वा राइराङबाट ९.७, काबेली बी वानबाट २५ र काबेली बी वान क्यास्केटबाट ९.९ गरी कुल ८३.४ मेगावाट विद्युत् उत्पादन भई केन्द्रीय प्रसारणमा जोडिएको छ ।
उता इलामका माईभ्याली, सगरमाथा, सानिमा, जोगमाई, माईबेनी, पुवाखोला, हिमाल दोलखा र पुवाखोला–१ जलविद्युत् आयोजनाबाट गरी ११५ मेगावाट बिजुली केन्द्रीय प्रसारण लाइनमा जोडिइसकेको छ ।
सेतो सुनमार्फत समृद्धितर्फ
साबिक मेची अञ्चलका पहाडी र हिमाली जिल्लामध्ये जलविद्युत् उत्पादनको प्रचुर सम्भावना रहेको जिल्ला ताप्लेजुङ हो । ताप्लेजुङका लागि ऊर्जा मन्त्रालयबाट कम्पनीहरूले पाँचदेखि ४१५ मेगावाटसम्मको उत्पादन प्रस्ताव गरेका छन् ।
ऊर्जा मन्त्रालयको तथ्याङ्क हेर्दा ताप्लेजुङको सबैभन्दा ठुलो ४१५ मेगावाटको अप्पर तमोर जलविद्युत् आयोजना हो । यसको निर्माणका लागि तमोर सानिमा इनर्जी प्रालिले प्रस्ताव गरेको छ । यो आयोजनाले २०६८ मङ्सिर २९ मा प्रारम्भिक सर्वेक्षणको अनुमति मागेको थियो । अहिले यो आयोजना सुरु हुने चरणमा छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–१ देखि ४ का तापेथोक, सावादिन, खेजेनिम र लिङ्खिम यसको प्रभावित क्षेत्रमा पर्छन् । यही कम्पनीले मध्यतमोर जलविद्युत् आयोजना (७३ मेवा) निर्माण गरिरहेको छ ।
फक्ताङ्लुङ गाउँपालिका–७, ओलाङचुङ्गोलाको टिपतालाभन्ज्याङबाट सुरु भएको तमोर नदीबाट मात्रै ७८९ मेगावाट विद्युत् उत्पादन गर्न सकिने मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । यो काबेली नदीमा नमिसिँदै उत्पादन हुने मेगावाट हो । यसका लागि उत्पादक कम्पनीलाई अध्ययनको जिम्मा दिइएको छ । युनियन हाइड्रोपावर लिमिटेड ललितपुरले ओलाङचुङ्गोला प्रभावित क्षेत्र हुने गरी ७२ मेगावाटको प्रस्ताव गरेको छ । उसले अप्पर तमोर ‘ए’ जलविद्युत् आयोजना अन्तर्गत प्रस्ताव गरेको हो । रिभरसाइड हाइड्रो इनर्जी प्रालिले तमोरखोलाबाट ५ मेगावाट उत्पादन गर्ने प्रस्ताव गरेको छ ।
४० मेगावाट उत्पादन हुने यसको प्रभावित क्षेत्र फक्ताङ्लुङ–६, लेलेप मात्रै हुन्छ भने लेलेपमै संरचना बन्ने गरी अप्पर तमोर हाइड्रोपावर प्रालिले ३२.५ मेगावाटको प्रस्ताव गरेको छ । ओलाङचुङ्गोला र लेलेप प्रभावित क्षेत्र हुने गरी १५५ मेगावाटको सुपर तमोर जलविद्युत् आयोजनाले पनि प्रस्ताव गरेको छ । व्रिmस्टल पावर डेभलपमेन्ट प्रालिले यसको अध्ययन अनुमति पाएको छ ।
तमोर नदीसँग संयुक्त आयोजनाका रूपमा घुन्सा तमोर जलविद्युत् आयोजना प्रस्ताव गरिएको छ । ४३ मेगावाटको यो आयोजना ब्लुस्टार होटेल कम्प्लेक्स थापाथली काठमाडौँले प्रस्ताव गरेको हो । उसले फक्ताङ्लुङ–६, लेलेपमै संरचना बनाउने बताएको छ । मिक्वाखोला–१ र २ को खोक्लिङ र फुङलिङ नगरपालिका–१, २, ३ र ७ मा संरचना बन्ने गरी १२८ मेगावाटको तमोर मेवा जलविद्यत् आयोजना प्रस्ताव गरिएको छ । स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीले निर्माण गर्ने यो आयोजनाले यसै वर्षदेखि निर्माण सुरु गर्ने जानकारी दिएको छ । तमोर नदीमा मिसिने मेवाखोलामा उत्पादनका लागि अप्पर मेवाखोला ‘ए’ २८, मिडिल मेवा ४९, मेवाखोला ५०, मेवाखोला ‘ए’ २३ र अप्पर मेवाखोला १५.५ मेगावाट छन् ।
मिक्वाखोला गाउँपालिका–४, साँवा र ५ पापुङमा संरचना बनाउने गरी सूर्य होल्डिङ कम्पनी र मिक्वाखोला, मैवाखोला गाउँपालिकाका लिवाङ, साँवा, नाल्वु, पापुङ र थुकिम्बामा संरचना बनाउने गरी मेवा डेभलपमेन्ट कम्पनीले मिडिल मेवा निर्माण गर्ने भएका हुन् । यी कम्पनीले यसै महिनाबाट निर्माण सुरु गर्ने बताएका छन् ।
मिक्वाखोला र मेरिङ्देन गाउँपालिकाका खाम्लुङ, खोक्लिङ, लिङ्तेप, लिबाङ र थुकिम्बामा संरचना रहने गरी मेवाखोला हाइड्रोपावर प्रोजेक्टले पनि काम सुरु गर्ने तयारी गरेको छ । मिक्वाखोलाको पापुङमा युनियन मेवा हाइड्रोले प्रस्ताव गरेको छ । मैवाखोला र मेरिङ्देन गाउँपालिकाको फाकुम्वा, साँघु, ढुङ्गेसाँघु र थिङ्लावु प्रभावित क्षेत्र हुने गरी प्रस्ताव भएको छ ।
सिरिजङ्घा गाउँपालिका–८, याम्फुदिनमा निर्माण हुने सुपर काबेली ‘ए’ स्नो रिभर प्रालिले बनाउँदै छ । खेवाङ, मामाङ्खे र याम्फुदिनमा संरचना बन्ने गरी युनियन हाइड्रो इनर्जी प्रालिले सुपर काबेली, खेवाङ, मामाङ्खे, पेदाङ, मेहेले र तेल्लोकमा संरचना बन्ने गरी काबेली हाइड्रोपावर कम्पनीले काबेली–३ निर्माण गर्ने तयारी गरेका छन् ।
सिदिङ्वा र सिरिजङ्घा गाउँपालिका अन्तर्गत साब्लाखु, सिनाम र थुम्बेदिनमा संरचना बन्ने गरी अप्पर काबेली निर्माण हुँदै छन् । तमोर, काबेली, मैवाबाहेक घुन्साखोलाबाट घुन्सा रेमिट हाइड्रोपावरले लेलेपमा ७१, सिम्बुखोलाबाट रेमिट हाइड्रोपावरले नै तापेथोकमा ५४, तापेथोक र याम्फुदिनमा संरचना रहने गरी सिम्बुखोलाबाट सिम्बुवा हाइड्रोपावरले ४७, पालुङखोला हाइड्रोपावरले पापुङमा २१, एमए इनर्जी भेन्चरले सुरुमखिम र खेवाङमा १० मेगावाट निर्माणका लागि ऊर्जा मन्त्रालयबाट अनुमति लिएका छन् ।
साब्लाखुमा लम्बावाखो २१.९ मेगावाटका दुई वटा आयोजना प्रस्ताव भएका छन् । पापुङमा पालुङखोला हाइड्रोपावर प्रालिले २१ मेगावाटको प्रस्ताव गरेको छ । यहाँ उत्पादित बिजुली विस्तारका लागि काबेली कोरिडोर सञ्चालनमा आइसकेको छ भने कोशी करिडोर निर्माण सुरु भइसकेको छ । अहिले पाँचथर र ताप्लेजुङमा उत्पादित विद्युत् पाँचथरको अमरपुर र फिदिम–४, थापाटारको सबस्टेसन हुँदै केन्द्रीय प्रसारण लाइनमा मिसाइएको छ ।
जल तथा ऊर्जा आयोगले पछिल्लो समयमा गरेको अध्ययन अनुसार नेपालमा नदीबाट (क्यु ४०) ७२ हजार ५४४ मेगावाट क्षमताका विद्युत् आयोजना निर्माण गर्न सकिने र जलाशययुक्त ४८ हजार १४५ मेगावाट क्षमताका आयोजना बनाउन सकिने निष्कर्ष निकालेको छ । विद्युत् विकास विभागका अनुसार हाल कोशी प्रदेशमा ४१८ मेगावाट विद्युत् उत्पादन भइरहेको छ भने एक हजार छ सय मेगावाटका विद्युत् आयोजना निर्माणाधीन छन् । कोशीमा विद्युत् उत्पादनको सम्भावना भने ३४ हजार २१५ मेगावाट रहेको विभागको अनुमान छ । हाल कोशी प्रदेशमा विद्युत् विकास विभागतर्फ सञ्चालनमा रहेका ३९ आयोजनाबाट ४१८.८६ मेगावाट क्षमताका आयोजना सञ्चालनमा छन् । जसबाट दुई हजार ६९४.६३४ मेगावाट उत्पादन हुन सक्छ । यस्तै २५ आयोजनाले लाइसेन्स माग गर्दै आवेदन दिएकामा एक हजार ४९७.०४ मेगावाट विद्युत् उत्पादन हुन सक्छ । यस्तै सर्भे लाइसेन्स जारी भएका ३६ आयोजनाबाट तीन हजार ६७७.५०२ मेगावाट, सर्भे लाइसेन्स आवेदन दिएका पाँच आयोजना ५१.९ मेगावाट क्षमताका रहेका छन् ।
हाल सरकारले अध्ययन गरिरहेका १० आयोजनाबाट एक हजार १२३.७२, बास्केट २८ आयोजनाबाट २४९.१५७ मेगावाट, लगानी बोर्डको तीन आयोजनाबाट दुई हजार ३४१ मेगावाट तथा सप्तकोशी उच्च बाँधबाट तीन हजार मेगावाट गरी जम्मा १५ हजार मेगावाटभन्दा माथि क्षमताको आयोजना निर्माणको सम्भावना रहेको छ । अहिले निर्माणाधीन आयोजनाको क्षमता तीन हजार २८०.८८ मेगावाट रहेको छ । कोशीमा पहिचान भएका जलाशययुक्त आयोजनामा सप्तकोशी उच्च बाँध तीन हजार, तमोर जलाशय ७६२, तमोर (१) ६९६, तमोर (२) १८६, दुधकोशी (१) ५३०, दुधकोशी (३) ३००, सुनकोशी (१) १३५७, माई ६१.४, अप्पर माई ५३ र कनकाई ८४ मेगावाट गरी सात हजार २९.४ मेगावाटका आयोजना छन् ।
आम्दानी र रोजगारी
विभिन्न अध्ययन र हाल भइरहेको विद्युत् आयोजनाको आम्दानीका आधारमा एक मेगावाट क्षमताको जलविद्युत् आयोजनाले वार्षिक तीन करोड रुपियाँ आम्दानी गर्न सक्छ । यस्तै उक्त आयोजनाले वार्षिक सात लाख रोयल्टी तिर्न सक्छ भने तीन सय जनालाई रोजगारी दिन सक्छ । कोशीमा हाल तीन खर्ब २० करोडका एक हजार छ सय मेगावाटका आयोजना निर्माणाधीन छन् । यी आयोजना सम्पन्न भएसँगै वार्षिक ४८ अर्ब रुपियाँ आम्दानी पुग्ने र वार्षिक रोयल्टी मात्रै एक अर्ब १२ करोड हुने प्रक्षेपण छ । पूर्ण क्षमतामा अर्थात् ३४ हजार मेगावाट क्षमताका आयोजना निर्माण हुँदा ६८ खर्ब २० अर्बको लगानी हुने र वार्षिक आम्दानी १० खर्ब २० अर्ब रुपियाँ हुने स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) का पूर्वअध्यक्ष कुमार पाण्डेको भनाइ छ । इप्पानको अध्ययन अनुसार त्यसबाट सरकारलाई रोयल्टी मात्रै वार्षिक २३ अर्ब ८० करोड रुपियाँ उठ्ने र एक करोड २० जनाले रोजगारी पाउन सक्ने छन् ।
वैशाख १९ गते कोशी प्रदेश सरकारले विराटनगरमा आयोजना गरेको लगानी सम्मेलनमा भेला भएका लगानीकर्ताले यो प्रदेशमा कुल ३४ हजार मेगावाट विद्युत् उत्पादनको सम्भावना रहेको भन्दै सरकारसँग लगानीमैत्री वातावरण बनाउन सुझाएका छन् । लगानी सम्मेलनमा इप्पानका अध्यक्ष गणेश कार्कीले राखेको धारणालाई मात्रै आधार मान्दा सरकारले सहजीकरण गर्ने हो भने यो प्रदेशमा जलविद्युत्मा लगानी गर्न विदेशी लगानीकर्तासमेत आकर्षित हुन सक्ने देखिएको छ ।