• ३१ वैशाख २०८२, बुधबार

तारागाउँ चियाको सफल यात्रा

blog

सुनौलो घामले चुमेको हरित चियाबारी, पहाडी हावासँगै ताजा चियाको सुवास र मेहनती किसानको अनुहारमा देखिने सन्तुष्टि, यी सबै कुरा मिलेर निर्माण भएको छ इलामको सूर्योदय नगरपालिका–६, तारागाउँमा ‘तारागाउँ चिया उद्योग’ ।

विसं २०६९ मा जब किसानको पसिना बजारमा उचित मूल्यमा बिक्न सक्दैन भन्ने गुनासो तीव्र थियो, त्यहीबेला चियाको भविष्यको सम्भावना देखेर उद्योग स्थापना गर्ने साहस गर्नुभयो स्थानीय उद्यमी उत्तमकुमार श्रेष्ठले । २०६९ सालमा स्थापना गरिएको यो उद्योग अहिले इलामकै एक सफल चिया उद्योगका रूपमा चिनिएको छ ।

उद्योगसँग अहिले आफ्नै १५० रोपनीको चिया बगान छ । जहाँ गुणस्तरीय अर्गानिक चिया उत्पादनको थालनी गरिएको छ । उद्योगमा प्रतिदिन १० हजार किलोग्राम हरियो पत्ती प्रशोधन गरिन्छ । हाल यस उद्योगसँग सात सयभन्दा बढी किसान प्रत्यक्ष रूपमा जोडिएका छन् । उद्योगकै कारण आफ्नै ठाउँमा किसानको जीवनयापनको बाटो बनेको छ । उद्योगले वार्षिक रूपमा दुई लाख ५० हजार किलोग्राम चिया उत्पादन गर्ने गरेको छ । 

तारागाउँको स्थापना 

उत्तमका स्वर्गीय बुबा बमबहादुर व्यवसायसँगै समाजसेवा पनि गर्नुहुन्थ्यो । उहाँको भेट एक बेलायती नागरिकसँग भएपछि पुस्तौँसम्म हुने र राम्रो आम्दानी दिने चियाको खेती गर्न सल्लाह दिएपछि जमिनको खोजी गर्न सुरु भयो । वर्षमा ३६ पटक चिया टिप्न सकिने र वर्षको नौ महिना चियाले आम्दानी दिने भएपछि स्वर्गीय बमबहादुरको सुन्दर चिया बगान बनाउने सपनामा उत्तमले साथ दिनुभएपछि तारागाउँमा चिया रोपियो । “उद्योग त स्थापना भयो तर त्यहाँसम्म पुग्ने बाटो थिएन,” स्थापनाकाल सम्झँदै उत्तमले भन्नुभयो । उहाँले चिया रोपेर उद्योग स्थापना गरेपछि गाउँलेले पनि पाखोबारीमा चिया लगाउन सुरु गरे । अहिले सबै किसान चियामै आत्मनिर्भर बनेका छन् । तारागाउँ चिया उद्योग स्थापनादेखि हालसम्म आइपुग्दा १३ करोडभन्दा बढी लगानी उद्योगमा भइसकेको छ । 

बजारको खोजी

तारागाउँ चिया उद्योगले उत्पादन गरेको चिया भारतीय बजारमा जाने गरेको छ । भारतले बर्सेनि विषादी र गुणस्तरको कारण देखाएर हैरान बनाएपछि उद्योगले अहिले तेस्रो मुलुकमा बजार खोजी रहेको छ । उत्तम बजारीकरणमा सहयोग गर्न भन्दै प्रधानमन्त्रीदेखि विभिन्न देशका राजदूतको ढोका ढकढक्याउन पुग्ने गर्नुहुन्छ । चिया क्षेत्रमै काम गरिरहेका उहाँका छोरा समीर र सुनील चियाको बजारीकरणका लागि विभिन्न मुलुक पुगिसक्नुभएको छ । नेपालभित्र सिटिसी चियाको खपत घटाएर अर्थोडक्स चियामा बानी बसाल्नुपर्ने उत्तमको भनाइ छ । 

वर्षमा दस करोडकोे कारोबार

तारागाउँ चिया उद्योगले वार्षिक रूपमा दुई लाख ५० हजार किलोग्राम चिया प्रशोधन गर्छ । उत्पादित चियाको प्रतिकिलो मूल्य चार सय रुपियाँभन्दा माथि पर्न जान्छ । यसरी उद्योगले वार्षिक १० करोड रुपियाँभन्दा बढीको कारोबार गर्दै आएको छ । यो कारोबारबाट मात्र नौ करोड रुपियाँभन्दा बढीको आम्दानी हुने गरेको छ । 

अर्थोडक्सबाट अर्गानिकतर्फ

उद्योगले सुरुदेखि नै अर्थोडक्स चिया उत्पादनमा ध्यान दिएको थियो । आगामी दिनमा अझ उच्च मूल्य प्राप्त गर्न र अन्तर्राष्ट्रिय बजारको माग पूरा गर्न अर्गानिक चिया उत्पादनमा ध्यान केन्द्रित गर्ने उद्योगको तयारी छ । यसका लागि किसानलाई जैविक मल वितरण गर्ने तयारी उद्योगले गरिरहेको छ । उद्योगका सञ्चालक श्रेष्ठ भन्नुहुन्छ, “हामीले भारतमा चिया बिक्री गर्दै आएका छौँ तर अब तस्रो मुलुकका अर्गानिक चियाको ठुलो माग हुने बजारमा आफ्नो उत्पादन पु-याउने लक्ष्यमा छौँ ।” 

नेपाली चियाको अवस्था 

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्क अनुसार नेपालमा पछिल्लो समयमा चियाको उत्पादन बढ्दै गएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा नेपालमा दुई करोड ७० लाख किलोग्राम चिया उत्पादन भएको थियो । भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुसार गत आव २०८०/८१ मा तीन अर्ब ६३ करोड रुपियाँ बराबरको एक करोड ६५ लाख किलो चिया नेपालबाट विभिन्न मुलुकमा निर्यात भएको थियो । चालु आव २०८१/८२ को चैत मसान्तसम्मको अवस्थामा नेपालले तीन अर्ब ५७ करोड रुपियाँ बराबरको चिया निर्यात गरेको छ । चालु आवमा चार अर्ब ५० करोड रुपियाँ बराबरको चिया निर्यात हुने बोर्डको भनाइ छ । नेपालमा १५ हजार २०३ किसान चिया खेतीमा आबद्ध छन् । यस्तै १७१ वटा टी स्टेट र साना मझौला गरी १२० वटा चिया प्रशोधन केन्द्र सहालनमा छन् । यस्ता टी स्टेट र प्रशोधन केन्द्रमार्फत करिब ६० हजारले रोजगारी प्राप्त गरेका छन् ।