मुलुकको समृद्धि र विकासको सवालमा विशेष र दीर्घकालीन प्रभाव पार्ने केही ठुला र महत्त्वपूर्ण परियोजनालाई नेपाल सरकारले विशेष प्राथमिकता दिँदै राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखेर निर्माण र सञ्चालन कार्य अगाडि बढाएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा राखेको परियोजनाको निर्माण, विकास र विस्तार अभियानले अपेक्षाकृत रूपमा अन्य विकासे आयोजनाभन्दा अधिक प्राथमिकता पाउने गर्छन् । मुलुकको समग्र विकासका लागि प्राथमिकताका साथ लिएको राष्ट्रिय गौरवको आयोजनालाई मुलुकको समग्र विकासको मेरुदण्ड मानिन्छ । यी आयोजनाको सफल निर्माण र सञ्चालनबाट राष्ट्रिय स्वाधीनता, आर्थिक समृद्धि तथा पूर्वाधार विस्तारमा महìवपूर्ण भूमिका खेल्ने अपेक्षा गरिन्छ । कोशी प्रदेशमा पनि समयसीमा, लागत र प्रभावको दृष्टिले निकै ठुलो मानिएको राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको छ कोशी राजमार्ग ।
त्रिदेशीय व्यापारिक मार्ग
नेपालको भौगोलिक अवस्थिति अन्तर्राष्ट्रिय व्यापारिक दृष्टिकोणले अत्यन्तै रणनीतिक दृष्टिको रहेको छ । उत्तरमा चीन र दक्षिणमा भारत जस्ता दुई विशाल अर्थतन्त्र भएका मुलुकबिच नेपालले आफ्नो भौतिक पूर्वाधार सुदृढ गर्न सकेमा ‘ट्रान्जिट हब’ का रूपमा स्थापित हुने अपार सम्भावना बोकेको छ । यही सम्भावनाको केन्द्रविन्दुमा पर्दछ कोशी राजमार्ग, जुन भारतको जोगबनी नाका हुँदै नेपालको तराई, पहाड र हिमाली क्षेत्र पार गर्दै चीनको सीमावर्ती किमाथाङ्कासम्म पुग्दछ । भारतसँगको सीमानाका जोगबनीबाट नेपालको उत्तरी सिमानामा पर्ने चीनसँग जोडिएको किमाथाङ्का जोड्ने गरी त्रिदेशीय व्यापारिक मार्गका रूपमा रहेको कोशी राजमार्गलाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि सारेको हो । यो आयोजना अन्तर्गत ३९० किलोमिटर लामो सडक बन्दै छ । पहिलो चरणमा नेपाल सरकारको लागतमा यो आयोजनाको काम आर्थिक वर्ष २०६५÷६६ बाट सुरु भएको थियो ।
कोशी प्रदेश अन्तर्गत पूर्वी नेपालका तीन भौगोलिक क्षेत्र तराई, पहाड र हिमाललाई एउटै सञ्जालमा जोड्ने र भारत–नेपाल–चीन बिचको वैकल्पिक व्यापारिक मार्गका रूपमा विकास गर्ने सरकारको योजना हो । यो मार्ग भारतको बिहार राज्यस्थित जोगबनी नाकाबाट सुरु भई विराटनगर, इटहरी, धरान, धनकुटा, हिले, खाँदबारी, चिचिला, भोटखोला हुँदै चीनको किमाथाङ्कासम्म पुग्दछ । भारत र चीनबिच सिधा यातायातमार्ग सीमित छन् । त्यसैले चीन र भारतलाई जोड्ने नेपाल भएर जाने मार्ग महत्त्वपूर्ण बन्दै गएको छ । कोशी राजमार्ग चीन र भारत जोड्ने सस्तो तथा छोटो दुरीको मार्ग बन्ने स्पष्ट छ । कोशी राजमार्गमार्फत चीनको तिब्बत क्षेत्रमा उत्पादित वस्तु नेपाल भिœयाउनुका साथै सहज रूपमा भारत पठाउन सकिन्छ र भारतका पूर्वी राज्य बिहार, बङ्गाल, आसामलगायत विभिन्न राज्यबाट उत्पादित सामान चीन जान सक्छ । यसले ढुवानी लागत पनि कम हुने स्पष्ट देखिन्छ ।
कोशी राजमार्गले सङ्खुवासभा, भोजपुर, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङलगायत जिल्लालाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा समेटेको छ । त्यसैले यस मार्गले उद्योग, पर्यटन, कृषि, व्यापारलगायत सम्पूर्ण पूर्वाधार विकासमा व्रmान्तिकारी परिवर्तन ल्याउने सम्भावना बोकेको स्पष्ट देखिन्छ । अर्कातर्फ सरकारले उचित कानुनी संरचना निर्माण गरेर चीन–भारतबिच ‘ट्रान्जिट मार्ग’ का रूपमा कोशी राजमार्ग प्रयोग गराउन सक्यो भने पारवहन शुल्क, भन्सार महसुल तथा अन्य सेवा करबाट ठुलो आम्दानी गर्न सक्छ । यो सडक सञ्चालनमा आएपछि नेपाल, भारत र चीनलाई मात्र नभएर बङ्गलादेशले समेत फाइदा लिन सक्ने देखिन्छ ।
राजमार्गको वर्तमान अवस्था
नेपाल–भारत–चीन त्रिकोणीय व्यापारिक सम्बन्ध विस्तार गर्न कोशी राजमार्ग एक महìवपूर्ण ‘इकोनोमिक कोरिडोर’ बन्ने विश्वासका साथ यो सडकको स्तरोन्नति र विस्तार, पुनर्निर्माण, ममर्तसम्भारका साथै अन्तिम विन्दु किमाथाङ्का आसपासमा ट्र्याकलाई फराकिलो बनाउने र सडकलाई पूर्ण रूपमा जोड्ने अभियानका काम भइरहेका छन् । त्यस क्रममा जोगबनीदेखि दुहबी, इटहरी हुँदै धरानसम्मको सडकलाई स्तरोन्नति गरी छ लेनको बनाउने कार्य अन्तिम चरणमा पुगेको छ । छ लेनको सडक विस्तार र निर्माणका क्रममा दुहबी र इटहरी बजार क्षेत्रमा अहिले निर्माण धमाधम भइरहेको छ भने धरान बजार क्षेत्रमा विस्तारको काम अगाडि बढिसकेको छैन । त्यस्तै धरानदेखि धनकुटा, हिले हँुदै खाँदबारीसम्मको सडकखण्डमा नियमित ममर्तसम्भारको कार्य पनि भइरहेको छ । खाँदबारीको लबिङ हिलदेखि मानेभन्ज्याङसम्मको सडकलाई अहिले पक्की बनाउने काम भइरहेको छ ।
ट्र्याक खोल्न बाँकी रहेका क्षेत्रमा नेपाली सेनाको सहयोगमा ट्र्याक खोलेर खाँदबारी–किमाथाङ्का सडकको ‘ब्रेक थ्रु’ भएपछि एउटै सडकले तीन देशलाई जोडिसकेको छ । नेपाल सरकारका तीन मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको उपस्थितिमा सङ्खुवासभाको भोटखोलास्थित घोङ्गोप्पामा चट्टान फुटाएर केही महिनाअघि ‘ब्रेक थ्रु’ गरिएको हो ।
सडकको ट्र्याक खोल्न निर्माण कम्पनीलाई ठेक्का दिइए पनि भोटखोला गाउँपालिका–२ को च्याम्ताङदेखि घोङ्गोप्पासम्म कडा चट्टान रहेकोले ट्र्याक खोल्न सकिएको थिएन । विस्फोटक पदार्थ प्रयोग गरी सडक विस्तार गर्नुपर्ने भएपछि २०७६ भदौ २२ गते मन्त्रीपरिषद् बैठकले नेपाली सेनालाई सडक निर्माणको जिम्मा दिएको थियो । नेपाली सेनाले ट्र्याक खोल्ने काम सम्पन्न गरेसँगै जोगबनी–किमाथाङ्का सडक जोडिएको छ । खाँदबारीदेखि किमाथाङ्कासम्म १६२ किलोमिटरमध्ये १० किलोमिटरभन्दा बढी ट्र्याक खोल्ने जिम्मा नेपाली सेनालाई दिइएको थियो ।
उत्तर–दक्षिण (कोशी) सडक योजना कार्यालय अन्तर्गत सङ्खुवासभा जिल्लाको सदरमुकाम खाँदबारी (लभिङ हिल) देखि किमाथाङ्कासम्मको सडक निर्माण तथा स्तरोन्नतिको कार्य सञ्चालनमा रहेको छ । खाँदबारीदेखि किमाथाङ्का सीमासम्म जम्मा १६२ किलोमिटर लम्बाइमध्ये १४८ किमी सडकको नयाँ ट्र्याक खोली गाडी जाने अवस्थाको बनिसकेको छ । बाँकी रहेको १४ किलोमिटर लम्बाइ नेपाली सेनाको जिम्मामा नयाँ ट्र्याक खोली सडक निर्माण भइरहेको छ । उक्त सडकखण्डको कुल लम्बाइ १०.५ किमी कायम हुने गरी सडकको ‘ब्रेक थ्रु’ भइसकेको र सात किमी ट्र्याकसम्म यातायात जान सक्ने अवस्था छ र बाँकी सडकखण्ड स्तरोन्नति भइरहेको छ ।
कोशी राजमार्गले भारत, नेपाल र चीनलाई जोडिसके पनि कतिपय स्थानमा स्तरोन्नति गर्ने, पक्की सडक बनाउने, पक्की र कच्ची सडकलाई मर्मत गर्ने र ट्र्याक खोलेको क्षेत्रको सडकलाई फराकिलो र विस्तार गर्ने व्रmममा आसपासका चट्टान काट्ने र फुटाउने कामलाई गति दिनुपर्ने आवश्यकता रहेको छ ।
जोगबनी–किमाथाङ्का सडक जोडिएसँगै देश समृद्धितर्फ लाग्ने बाटो खुलेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको भनाइ छ । यो सडकमार्ग तीन देश जोड्ने सबैभन्दा छोटो दुरीको भएकाले त्रिदेशीय पारवहनमा महìवपूर्ण भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ । ट्र्याक खोल्नका लागि आवश्यक बजेट जुटाउन विगतमा पनि निकै मेहेनत गर्नु परेको देखिन्थ्यो । अब बाँकी काम सम्पन्न गर्नका लागि बजेट व्यवस्थापनमा कन्जुस्याइँ नगर्न सर्वसाधारणले समेत सरकारसँग माग गरेका छन् ।
सडकको ‘ब्रेक थ्रु’ गरिएको घोङ्गोप्पाबाट किमाथाङ्का नाका पुग्न करिब १४ मिटरको दुरी मात्र पार गर्नु पर्छ । त्यस क्षेत्रमा यसअघि नै ट्र्याक खोलिएको भए पनि प्रयोगमा नआउँदा उत्तिकै पुनर्निर्माण गर्नुपर्ने अवस्था रहेको उत्तर–दक्षिण कोशी सडक आयोजना कार्यालयले जनाएको छ । त्यस खण्डमा रहेका केही चट्टान फुटाउनु तथा काट्नुपर्ने भएकाले एक्साभेटर, ब्रेकरलगायतका उपकरण खाँदबारीबाट पठाउन सुरु गरिएको छ । खाँदबारीदेखि भोटखोलाको च्याम्ताङसम्मको सडकको स्तरोन्नतिको काम भइरहेको र घोङ्गोप्पादेखि किमाथाङ्कासम्म सडक मर्मत कार्य तीव्र रूपमा गर्नुपर्ने देखिन्छ । अर्कातर्फ उत्तरी क्षेत्रको सडक सञ्जालमा रहेका खोलानालामा पुल, पुलेसा र कलभर्ट निर्माणलाई पनि तत्काल प्राथमिकता दिनुपर्ने देखिएको छ ।
निष्कर्ष
पूर्वी नेपालको पर्यटन प्रवर्धनमा समेत टेवा पु-याउने विश्वास गरिएको कोशी राजमार्ग मुलुकको व्यापारिक भविष्य निर्माण गर्ने सम्भावनाको मार्ग हो । भारत–नेपाल–चीन त्रिदेशीय व्यापार विस्तारको ढोका खोल्न सक्ने सामथ्र्य बोकेको यस राजमार्गलाई रणनीतिक विकास कोरिडोरका रूपमा लिन सकिन्छ । नेपालले चीन र भारतसँग त्रिपक्षीय समझदारी गरेर कोशी राजमार्गलाई अन्तर्राष्ट्रिय ‘ट्रान्जिट कोरिडोर’ बनाउने दीर्घकालीन रणनीति तयार गर्नुपर्ने छ ।
नेपालको भूरणनीतिक अवस्थालाई ध्यानमा राख्दा कोशी राजमार्ग केवल राष्ट्रिय महìवको मात्र होइन, दक्षिण एसिया र पूर्वी एसियालाई जोड्ने सम्भावित नाका पनि हो । यसले चीनको पश्चिमी क्षेत्रलाई भारतको उत्तरपूर्वी राज्यसँग जोड्न सक्छ, जुन ‘साउथ एसिया सबकोरिडोर’ को हिस्सा बन्न सक्ने देखिएको छ ।