काठमाडौँ, वैशाख २६ गते । परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षाका लागि सरकार सचेत रहेको जनाएको छ ।
मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीको सन्दर्भमा सरकार सचेत रहेको र त्यहाँ रहेका विद्यार्थी एवम् नेपालीसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको बताएको छ ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवम् अन्य नेपालीको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरूपमा सचेत छ । यसको निमित्त पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवम् नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ ।’
पाकिस्तानमा तत्कालै कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उहाँका अभिभावक, आफन्त एवम् त्यहाँ रहेका नेपालीले इस्लामवादस्थित नेपाली राजदूतावासको निम्न सम्पर्क नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न मन्त्रालयले जानकारी गराएको छ ।