काठमाडौँ, वैशाख २६ गते । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारको नीति तथा कार्यक्रममा युवालाई आशा जगाउने खालको कुनै कार्यक्रम नभएको बताउनुभएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले नीति तथा कार्यक्रमले युवाको थप एक वर्ष खेर जाने स्थिति पैदा गरेको आरोप लगाउनुभयो । उहाँले देशमा सम्भावना नदेखेर विदेश पलायन भएका युवाहरू विदेशमा समेत श्रम शाेषण पर्ने गरेको भन्दै नीति तथा कार्यक्रमले विदेशी भूमिका नेपाली युवाको समस्याको समाधानमा कुनै कुरा नबोलेको बताउनुभयो ।
महँगी नियन्त्रण लगायतका कयौँ सामाजिक समस्याहरूको समाधान गरी सर्वसाधारणको जीविकोपार्जनलाई सहज बनाउने गरी नीति तथा कार्यक्रममा उल्लेख नभएको वरिष्ठ उपाध्यक्ष पाण्डेको भनाइ छ । उहाँले भारत र पाकिस्तानबिच देखिएको समस्याले युद्ध निम्तिने खतरा बढेको तर्फ सरकारले सचेत हुनुपर्ने बताउनुभयो । उहाँले सार्क राष्ट्रको विशेष जिम्मेवारी नेपालको रहेकाले भारत र पाकिस्तानबिच शान्ति स्थापनाका लागि नेपालले विशेष कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
‘‘यतिबेला अन्तर्राष्ट्रिय क्षेत्र ठुलो युद्धको भुमरीतिर प्रवेश गर्न लागेको जस्तो देखिएको छ । भारत र पाकिस्तानबिच त्यस्तो समस्या सिर्जना भएको छ । हामी सार्क कन्ट्रीका रहेका र विशेष गरी सार्कको विशेष जिम्मेवारीमा पनि रहेको नाताले नेपाल सरकारले शान्ति स्थापना गर्नका लागि कुटनीतिक पहल पनि चालोस् म हार्दिक आग्रह गर्न चाहन्छु ।,’’ उहाँले भन्नुभयो, ‘‘आर्थिक मन्दी, युवा पलायन, रेमिट्यान्सको भरमा अर्थतन्त्र निर्भर रहने अवस्था, विभिन्न जातजाती क्षेत्र समुदायबिच चर्को द्वन्द्व, सहकारी मिटर ब्याज पीडितहरूको दैनिक जस्तो जुलुस धर्ना भइरहेको यो सङ्घीन घडीमा नीति तथा कार्यक्रममाथि छलफल गर्दै छौँ ।’’
उपाध्यक्ष पाण्डेले सङ्घीयतालाई कार्यान्वयन गरी बलियो बनाउन संविधानमा भएका एकल तथा साझा सूचीको अधिकारलाई अभ्यास गर्ने कानुन निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।