• २६ वैशाख २०८२, शुक्रबार

प्रधानमन्त्रीसँग भारतीय राजदूतको भेट

भारत–पाकिस्तानबिचको पछिल्लो तनावबारे जानकारी

blog

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुहुँदै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, वैशाख २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणका कारण भारत–पाकिस्तानबिच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभएको थियो ।

उहाँले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारबाही गरेको तर जेट हमला गरेको भन्ने प्रचार सत्य नभएको स्पष्ट गर्नुभयो । राजदूत श्रीवास्तवले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट बिहीबार सार्वजनिक भएको वक्तत्वप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा रहेको उल्लेख गर्नुहुँदै सबै प्रकारका आतङ्कवादविरुद्ध आफ्नो दृढ अडान अनुरूप उक्त आतङ्कवादी हमलाको भर्सना गर्नुभयो । उहाँले नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने स्पष्ट गर्नुभएको थियो ।