• २६ वैशाख २०८२, शुक्रबार

प्रदेश सरकारको प्राथमिकता पर्यटन प्रवर्धन : मुख्यमन्त्री आचार्य

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य। तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 

गुल्मी, वैशाख २६ गते। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशका धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएका स्थलको संरक्षण, प्रवर्धन र प्रचारप्रसारलाई प्राथमिकतामा राखेर सरकारले विशेष ध्यान दिएको बताउनुभएको छ। 

रुरुक्षेत्र धाममा आयोजित ‘प्रथम रुरुक्षेत्र शालग्राम महोत्सव २०८२’ को उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री आचार्यले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने गरी प्रदेश सरकारले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्थलको संरक्षण, प्रवर्धन र प्रचारप्रसारलाई प्राथमिकतामा राखेको बताउनुभएको हो।

महोत्सव ‘घुम्न जाऔं बर्दिया’, ‘पाणिनि तपोभूमि सम्मेलन’ र ‘रुरु शालग्राम महोत्सव’ यही उद्देश्यका साथ आयोजना गरिएको मुख्यमन्त्री आचार्यले स्पष्ट पार्नुभयो। उहाँले लुम्बिनी प्रदेशका धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दो क्रममा रहेको जानकारी दिनुभयो। 

मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘‘हामीले धर्म र संस्कृतिको संरक्षण गर्न जरुरी छ। त्यो उद्देश्य राखेर पनि प्रदेश सरकारले यी कार्यक्रमहरूलाई अगाडि बढाएको हो ऐतिहासिक सम्पदाको संरक्षण, सम्वर्धन र प्रवर्धनबाट समृद्धिको यात्रा तय गर्न सकिन्छ ।’’ 

लुम्बिनी प्रदेश तपोभूमि भएको उल्लेख गर्नुहुँदै आचार्यले रुरुक्षेत्रको शालग्रामलाई विश्व जगतमा पुर्‍याउन सकिने र धार्मिक पर्यटक भित्र्याउन सक्ने आधार रहेको स्पष्ट पार्नुभयो। 

उहाँले लुम्बिनी, पाणिनि ऋषिको जन्मस्थललगायत प्रदेशका धार्मिक तथा सांस्कृतिक स्थललाई एक आपसमा जोड्ने गरी सरकारले योजना अघि बढाएको जानकारी दिनुभयो। नेपालका चार प्रमुख धार्मिक धाममध्ये रुरुक्षेत्रमा ‘शालग्राम दिवस’ को अवसरमा पर्यटन डिभिजन कार्यालय रूपन्देही र तानसेन नगरपालिकाको सहकार्य तथा हृषिकेश मन्दिर व्यवस्थापन समितिको व्यवस्थापनमा महोत्सव आयोजना गरिएको हो। दुई दिनसम्म चल्ने महोत्सवमा धार्मिक र सांस्कृतिक कार्यक्रम भइरहेका छन्।