रमेश विश्वकर्मा
गुल्मी, वैशाख २६ गते । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले रेसुङ्गालाई पर्यटकसँग जोड्न प्रदेशस्तरबाट लागिएको बताउनुभएको छ । रेसुङ्गा नगरपालिकाको १२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले गुल्मीको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय क्षेत्र रेसुङ्गाको प्रवर्द्धनका लागि लुम्बिनी प्रदेश सरकार लागेको बताउनुभएको हो ।
मन्त्री कार्कीले समुन्नतिको विशेष आधार पर्यटन भएको भन्दै रेसुङ्गामा अत्यधिक मात्रामा पर्यटक आउँदा सिङ्गो लुम्बिनी प्रदेशलाई फाइदा हुने बताउनुभयो। विदेशी पर्यटकहरु विशेषगरी धार्मिक पर्यटकहरु रेसुङ्गामा आउने हुँदा पर्यटकहरुको सहजताका लागि लुम्बिनी प्रदेश सरकार लागेको उहाँले बताउनुभयो । रेसुङ्गा र भारतको अयोध्याबीच विशेष सम्बन्ध रहेको हुँदा भारतीय पर्यटकलाई रेसुङ्गामा ल्याउने गरी लागिएको उहाँको भनाइ छ।
रेसुङ्गा र भारतको अयोध्याबिचको सम्बन्धको प्रचारप्रसारसँगै रेसुङ्गाको इतिहासको बारेमा सबैलाई जानकारी गराउन आवश्यक रहेको बताउनुभयो । लुम्बिनी प्रदेशका जुनसुकै पर्यटकीय स्थलमा आउने पर्यटकलाई रेसुङ्गामा ल्याउन आवश्यक रहेको भन्दै उहाँले पर्यटकहरुका लागि व्यवस्थित होटलको आवश्यक हुँदा यसबारे स्थानीय सरकार र निजी क्षेत्रले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
पर्यटन क्षेत्रको विकासमा प्रदेश सरकार लागेको हुँदा रेसुङ्गामा पर्यटक ल्याउन सबै क्षेत्रबाट लाग्नुपर्ने उहाँले बताउनुभयो । रेसुङ्गा नगरपालिकाले रेसुङ्गामा पर्यटन प्रवर्द्धनका लागि ‘जाऔँ हिँड रेसुङ्गा’ अभियान सञ्चालन गरेको छ । मन्त्री कार्कीले अहिलेको व्यवस्थाका कारण हरेक क्षेत्रमा विकास भएको बताउनुभयो। वर्तमान व्यवस्थाको विकल्प अरु केही हुन नसक्ने बताउनुभयो ।
जनता आफैंले पनि सकारात्मक कर्म गर्न आवश्यक रहेको भन्दै उहाँले विदेश पलायनलाई रोक्न तिनै तहका सरकारले विशेष कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभयो। लुम्बिनी प्रदेश सरकारले उत्पादनमुखी कार्यक्रमलाई जोड दिएको उहाँको भनाइ छ।