गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २६ गते । पशुपति क्षेत्र विकास कोषले बलिउड कलाकार, खेलाडीसँगै राजनीतिक दलका नेतालाई पनि भगवान् पशुपतिनाथको दर्शनका लागि आमन्त्रण गरेको छ ।
धार्मिक पर्यटन प्रवर्धन गरी आर्थिक विकासमा योगदान गर्ने उद्देश्यसाथ प्रचार प्रसारमा जुटेको कोषले भारतीय जनता पार्टीका नेता तथा उत्तराखण्डका पूर्वमुख्यमन्त्री भगतसिंह कोस्यारीलाई पशुपतिनाथ मन्दिर दर्शन गराई धार्मिक पर्यटन प्रवर्धनमा सहयोग गर्न आग्रह गरेको हो ।
कोषका सदस्यसचिव डा. मिलनकुमार थापाका अनुसार नेपालबारे जानकारी नेता कोस्यारीलाई बिहीबार पूजाआजा गराई पशुपतिनाथ मन्दिरमा हरेक वर्ष ५० लाख भक्तजन पुर्याउने कार्यमा सहयोगका लागि आग्रह गरिएको छ । नेता कोस्यारीले नेपाल र भारतबिच प्राचीनकालदेखि चलिआएको सामाजिक, सांस्कृतिक एवं जनस्तरको सम्बन्धलाई अझै प्रगाढ बनाई आर्थिक विकास र समुन्नतिको यात्रामा सहकार्य गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाल र भारतका जनता सुखी र खुसी रहन द्विपक्षीय सहकार्यमा जोड दिनुभयो । सदस्यसचिव डा. थापाले भगवान् पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने श्रद्धालुको सङ्ख्या वार्षिक ५० लाख पुर्याउने लक्ष्यसाथ भारतमा पशुपति दर्शन अभियान सञ्चालन गरिएको र भारतबाट राजनीतिज्ञसँगै खेलकुद क्षेत्रका अगुवा, बलिउड कलाकार, उद्योगी व्यवसायी दर्शनका लागि आइरहेको बताउनुभयो । उक्त अवसरमा डा. थापाले नेता कोस्यारीलाई पाशुपत क्षेत्रको सांस्कृतिक सम्पदा पुस्तक प्रदान गर्नुभयो ।