गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २६ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले औद्योगिक विकास, स्वदेशी उत्पादनको बजारीकरण र निर्यात प्रवर्धनका लागि विभिन्न नीतिगत सुधार र सहजीकरणका प्रयास गरिरहेको बताउनुभएको छ । शुक्रबारदेखि यहाँ सुरु भएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को १० औँ संस्करणलाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
सरकारले रुग्ण उद्योगको पुनरुत्थान, नयाँ औद्योगिक सम्भावनाको पहिचान र लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेको जानकारी उहाँले दिनुभयो । निजी क्षेत्रले भने अनुसार नीतिगत सुधारका लागि सरकारले काम गरिरहको उल्लेख गर्दै उहाँले नेपाली उद्योगी व्यवसायीलाई उत्पादन र उत्पादकत्व वृद्धि गरी निर्यात प्रवर्धनमा लाग्न आग्रह गर्नुभयो ।
हालै संसद्मा पेस भएको नीति तथा कार्यक्रममा औद्योगिक विकास तथा निजी क्षेत्र प्रवर्धनलाई प्राथकितामा राखिएको बताउँदै उहाँले देशको आर्थिक विकासमा सरकार निजी क्षेत्रको साथमा रहेको उल्लेख गर्नुभयो । मेलाले नेपाली वस्तुको गुणस्तर र मौलिकतालाई विश्व बजारमा स्थापित गर्न र स्वदेशी उत्पादनको ब्रान्डिङ गर्न मेलाले सहयोग पुर्याउने बताउँदै नेपाली व्यवसायीलाई आफ्नो प्रतिस्पर्धात्क क्षमता बढाउन मन्त्री भण्डारीले आग्रह गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवर्धन र मुलुकको आर्थिक विकासमा मेलाले महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो । मुलुकको अर्थतन्त्र अझै पनि जटिल मोडमा रहेको र बजारमा माग बढ्न नसकेको अवस्थामा आफूहरूले मेला आयोजना गरेर बजारमा सकारात्मक सन्देश दिन खाजेको उहाँको धारणा थियो ।