• २६ वैशाख २०८२, शुक्रबार

कुलेखानी तेस्रोको एउटा युनिटमा समस्या

blog

राममणि दाहाल

मकवानपुर, वैशाख २६ गते । मकवानपुरमा रहेको कुलेखानी जलविद्युत् आयोजना विद्युत् अधिक माग हुने समयमा पनि पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन । आयोजनाका तीन वटा केन्द्रमध्ये भीमफेदी गाउँपालिकाको सानुटारस्थित कुलेखानी जलविद्युत् तेस्रो जलविद्युत् केन्द्रको एउटा युनिटमा समस्या आएपछि एक साताभन्दा लामो समयदेखि पूर्ण क्षमतामा सञ्चालनमा नल्याएको हो ।

कुलेखानी जलविद्युत् तेस्रो जलविद्युत् केन्द्रको दुई वटा युनिटमध्ये एउटा युनिटको जेनेरेटरको प्लेटमा खराबी आएपछि गत मङ्गलबारदेखि मर्मत भइरहेको केन्द्रका प्रमुख प्रसन्नमणि ताम्राकारले जानकारी दिनुभयो । उहाँले आइसोलेसन प्लेटमा समस्या आएपछि फेर्ने काम भएको भन्दै टर्बाइन र जेनेरेटरको एलाइनमेन्ट मिलाउने काम भइरहेको बताउनुभयो । “चिनियाँ प्राविधिकबाट काम भइरहेको छ, एलाइनमेन्ट नमिलाउँदा समस्या आउँछ,” केन्द्र प्रमुख ताम्राकारले भन्नुभयो, “मर्मत गरेर सञ्चालनमा ल्याउन अझै दुई/तीन दिन लाग्छ ।” कुलेखानीको तीन वटै केन्द्र गरी १०६ मेगावाटको रहेको छ । कुलेखानी प्रथम ६०, दोस्रो ३२ र तेस्रो केन्द्र १४ मेगावाट क्षमतामा रहेको छ । हाल तेस्रो मर्मतका क्रममा रहेकाले पहिलो पूर्ण क्षमतामा सञ्चालन गर्दा पानी खेर जाने भएको पूर्ण क्षमतामा सञ्चालनमा नरहेको उहाँको भनाइ छ । 

“कुलेखानी आयोजनाबाट मागका आधारमा र विद्युत् आपूर्तिलाई सन्तुलित बनाउन उत्पादन गर्ने हो,” उहाँले भन्नुभयो, “कुलेखानी प्रथमबाट करिब ४० मेगावाट उत्पादन भइरहेको छ, दोस्रो पूर्ण क्षमतामा र तेस्रोको क्षमताको आधा मात्र उत्पादन भइरहेको छ । कुलेखानी आयोजनाबाट विद्युत् अधिक माग भएको समयमा विद्युत् उत्पादन हुँदै आएको छ । कुलेखानी तेस्रोमा सात/सात मेगावाट क्षमताका दुई वटा युनिट रहेका छन् ।”