• २५ वैशाख २०८२, बिहिबार

भजहर कपको उपाधि गौरीगङ्गा ११ स्पोर्टस क्लबलाई

blog

उपाधिपछि गौरीगङ्गा–११ स्पोर्टस क्लब तस्बिर : सामाजिक सञ्जाल

निराजन परियार चौमाला 

कैलाली, वैशाख २५ गते । कैलालीको कैलारी गाउँपालिका–८ लोहरपुरमा भएको निसर्ग हस्पिटल पाँचौँ भजहर कप फुटबल प्रतियोगिताको उपाधिगौरीगङ्गा–११ स्पोर्टस क्लबले जितेको छ ।

लोहरपुर खेल मैदानमा भएको फाइनल खेलमा आयोजक श्री जनहित क्लब बीलाई हराउँदै गौरीगङ्गा च्याम्पीयन भएको हो । थारूहरूको पर्व भजहरको अवसरमा हरेक वर्ष हुँदै आएको भजहर कपको पाँचौँ संस्करणको फाइनलमा गौरीगङ्गाले आयोजक बी लाई २–० ले हराएको हो । विजेता भएसँगै गौरीगङ्गाले नगद एक लाखसहित ट्रफी पाएको छ । उपविजेता बनेको आयोजक श्री जनहित क्लब बी ले ५० हजार नगद सहित ट्रफीमा चित्त बुझाएको छ ।

प्रतियोगिताका विजयी खेलाडीहरूलाई एक समारोहका बिच पुरस्कार वितरण गरिएको छ । सुदूरपश्चिम चिकित्सक सङ्घका निवर्तमान अध्यक्ष तथा वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर प्रदीप मिश्र लगायतले विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार वितरण गरिएको आयोजक श्री जनहित युवा क्लबका अध्यक्ष मणिराम चौधरीले जानकारी दिनुभयो । 

थारू समुदायको पर्व भजहरलाई नयाँ पुस्तामा संरक्षण गर्दै अगाडी बढाउनका लागि गरिँदै आएको प्रतियोगितामा फुटबल प्रतियोगिताका साथै पौराणिक खेलहरूको पनि आयोजना गरिएको थियो । त्यसका साथै थारू कला संस्कृतिहरू पनि प्रस्तुत गरिएको थियो ।