• २५ वैशाख २०८२, बिहिबार

गुणस्तरहीन पुल भत्काइयो

blog

गुणस्तरहीन भएपछि भत्काइएको पुल। तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, वैशाख २५ गते। तनहुँको एक निर्माणधीन गुणस्तरहीन पुल भत्काइएको छ। पूर्वाधार विकास कार्यालय तनहुँले भत्काएर पुर्ननिर्माणका लागि निर्देशन दिएपछि व्यास नगरपालिकाको वडा नम्बरको–३ देउरालीनगर, बिसघरे  र वडा नम्बर १ को भादगाउँ, विज्ञानचौर जोड्ने बुल्दी खोलामा निर्माणधीन पुल ठेकेदारले भत्काएका हुन्।

मापदण्ड अनुरूपको गुणस्तर नभएपछि भत्काएर पुनःनिर्माण कार्य थालिएको पूर्वाधार विकास कार्यालय तनहुँका सिनियर इन्जिनियर रविन्द्र तिवारीले बताउनुभयो। 

तिवारीका अनुसार दुई स्पाम मध्ये एक स्पाममाथिको ढलानकार्य तयारी गरेपनि गुणस्तरहीन कार्य भएकाले भत्काएर सुधार गर्न लगाएको तिवारीले बताउनुभयो। प्राविधिकले परीक्षण गर्ने क्रममा बिममाथिको ढलान गुणस्तरहीन रहेको पाइएकोले पुनःनिर्माण गर्न लगाइएको तिवारीले जानकारी दिनुभयो। 

पिल्लर भने गुणस्तर अनुसारकै भएको उहाँले जानकारी दिनुभयो। तिवारीले भन्नुभयो, ‘गुणस्तर नभएको भत्काएर पुर्न निर्माण गर्न निर्देशन दिएपछि गुणस्तर हिन भाग भत्काएर पुर्ननिर्माणको काम भइरहेको छ।’ 

तिवारीका अनुसार वि.सं. २०७९ सालमा सम्पन्न गर्ने गरी निर्माण कम्पनी सपना बेलुले २०७७ सालमा सम्झौता गरे पनि हालसम्म ३८ प्रतिशत मात्रै काम भएको हो।  उक्त अवधिमा पुल निर्माण सम्पन्न गर्न नसकेपछि पुनः २०८२ जेठ ४ गतेसम्मका लागि म्याद थप गरिएको उहाँका अनुसार पुल निर्माणका लागि पाँच करोड दश लाख ३३ हजार बजेट विनियोजन भएको थियो। 

निर्माण कम्पनीको लापरबाहीका कारण सोचे अनुरूप कामले गति लिन नसकेको हो।  दुई स्पामको यस पुलको ५० मिटर र चौडाई ८ दशमलव ४ मिटर हुनेछ। छ मिटर दुरीमा गाडी गुड्छ भने दुवै साइड १ दशमलव २० मिटरका दरले दुई दशमलव ४० मिटर पैदलयात्रुको लागि हुने छ।

 व्यास नगरपालिका–१ विज्ञानचौर साइडमा रहेको विद्युत्  टान्सफर्मर स्थानान्तरण नहुँदा पुल निर्माण कार्यमा कठिनाई भएकाले हटाउन लागिएको छ। व्यास नगरपालिका–१, २ र ३ वडा कार्यालय भित्र पाँच विद्यालय र एक कलेज रहेका छन्। वर्षायामको समयमा बुल्दी खोला ठुलो हुने भएकाले पढ्न जाने विद्यार्थी र सर्वसाधारणले कठिनाई भोग्नु परेपछि आवश्यकतालाई मध्यनजर गर्दै सो स्थानमा पुल निर्माण गर्न लागिएको  हो।