• २५ वैशाख २०८२, बिहिबार

प्रधानमन्त्रीले शिलान्यास गर्नुभएको प्रतिष्ठानको डा.राउतबाट पुनः शिलान्यास

blog

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन शिलान्यास गर्नुहुँदै जनमत पार्टीका अध्यक्ष डा.सिके राउत । तस्बिर/विनय कर्ण

विनय कर्ण
कल्याणपुर (सप्तरी), वैशाख २५ गते ।
मन्त्रिपरिषद्को बैठकले २०७५ साल पुस १६ गते सप्तरीको राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गर्‍यो ।

०७८ जेठ २१ मा मन्त्रिपरिषद्कै बैठकबाट राजविराज नगरपालिकाले उपलब्ध गराएको वडा नम्बर १० स्थित रहेको ६२ बिघा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागि लिजमा दिने निर्णय भएको थियो ।

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ असार २२ गते काठमाडौंबाटै भर्चुअल माध्यमबाट प्रतिष्ठानको शिलान्यास गर्नु भएको थियो ।

त्यसबेला प्रधानमन्त्री ओलीबाट शिलान्यास भएपछि बहुचर्चित एवम् प्रतिक्षित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान मेडिकल कलेज राजविराजमा बन्ने निश्चित भएको यहाँका आम सर्वसाधारणमा निकै चर्चाको विषय बनेको थियो ।

प्रतिष्ठानको शिलान्यास गर्नुहुँदै त्यतिबेला पनि प्रधानमन्त्री रहनुभएका ओलीले निर्माणको काम पूरा भएपछि सप्तरी जिल्लाको आर्थिक विकासमा ठुलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भएको कुरा सप्तरीवासीलाई अहिले पनि स्मरणमा छ । तर त्यही प्रतिष्ठानको बुधबार पुनः शिलान्यास भएको छ ।

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले एक कार्यक्रकाबिच प्रतिष्ठानको बुधबार पुनः शिलान्यास गर्नुभएको हो । प्रतिष्ठानको शिलान्यासपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिनुहुँदै डा. राउतले आफ्नै किसिमको तर्कहरु प्रस्तुत गर्नुभयो ।

सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहनु भएका उहाँले प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएको भए पनि त्यसको म्याद गुज्रिसकेकाले पुरानोसँग कुनै सरोकार नरहेको जिकिर गर्नुभयो ।

यस अघिको गठन भएको आदेशको म्याद नै गुज्रिसकेको र यहाँका जनताले आन्दोलन गरेपछि हामीले ध्यान दिएपछि नयाँ गठन आदेश जारी भएर पुनःगठन भएको हुँदा शिलान्यास गरिएको उहाँको तर्क छ ।

“पहिलाको गठन आदेशको म्यादै गुज्रिसकेको थियो, नवीकरण नै गरेन, त्यो शिलान्यासको म्याद हामी निर्वाचन हुनुभन्दा अघि नै गुज्रिसकेको थियो ।,” डा.राउतले भन्नुभयो ।

प्रतिष्ठानको नयाँ गठन आदेश जारी भएपछि मधेश प्रदेशमा जनमत पार्टी नेतृत्वको सरकारले भवन निर्माणका लागि चार करोड रुपियाँ बजेट समेत सुनिश्चित भएर शिलान्यास गरी निर्माण काम सुरु गरिएको जानकारी दिनुभयो ।

शिलान्यास कार्यक्रममा जनमत पार्टीका सङ्गठन विभाग प्रमुख जयकान्त राउत, मधेश प्रदेशका पर्यटन मन्त्री शकिल अली मियाँ, प्रदेश सांसद महेश प्रसाद यादव, प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिका अध्यक्ष डा. पशुपति चौधरीका रस्थानियहरुको पनि उपस्थिति थियो ।