विनय कर्ण
कल्याणपुर (सप्तरी), वैशाख २५ गते। वैशाख १५ गते जिल्ला प्रहरी कार्यालय सप्तरीबाट १४ वैशाखको राति ८ बजेको समयमा राजविराज १ चनौरा बस्ने २५ वर्षीया काजल देवी साफीले घरायसी वादविवादको कारण नाम नखुलेको किरा मार्ने विषादी सेवन गराएर आफ्नै छोरा चार वर्षीय सौरभकुमार साफीसमेतलाई विषादी सेवन गराएको सूचना आयो।
त्यो सूचनामा गजेन्द्र नारायण सिंह अस्पताल राजविराज सप्तरीमा सामान्य उपचार पश्चात थप उपचारको लागि धरान पठाएको र त्यहाँबाट थप उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाइएकोमा उपचारको क्रममा वैशाख १५ गते सौरभको मृत्यु भएको र काजलको सोही अस्पतालमा उपचार भइरहेको तर अवस्था गम्भीर रहेको उल्लेख थियो।
काजलको स्वास्थ्य अवस्था समान्य भएपछि अस्पतालबाट डिस्चार्ज भएर हाल राजविराज नगरपालिका १ चनौरा स्थित आफ्नो घरमा औषधी खाँदै स्वास्थ्यलाभ गर्दै हुनुहुन्छ। छोरा जन्मिएको चार महिनापछि वैदेशिक रोजगारका लागि कतार गएका काजलका श्रीमान् अनिल कुमार साफी कतारमा हुनुहुन्छ। उहाँका लागि छोराको हाँसिलो मुहार अब सम्झनामा मात्र सीमित हुन पुग्यो।
बुवा चार वर्षदेखि वैदेशिक रोजगारको क्रममा कतारमै हुँदा यता चार वर्षीय छोरा सौरभ कुमार साफीको मृत्यु भइसकेको छ। यो घटनाले परिवार शोकमा डुबेको छ। स्वास्थ्य उपचार गराएर अस्पतालबाट फर्किएकी काजलले भने आफूले छोरालाई विष सेवन गराएर आफू पनि विष सेवन गरेको कुरालाई अस्वीकार गर्नुभएको छ।
आफ्नै निवासमा बिहीबार संचारकर्मीसँग कुरा गर्दै काजलले वैशाख १४ मा चार वर्षीय छोरा सौरभले घरमै राखिएको चामलमा किरा लाग्न नदिने विषादीयुक्त ‘ट्यावलेट’ लाई हजमोला पाचक सम्झेर खाएको बताउनुभायो।
एउटा ‘ट्यावलेट’ खाइसकेका छोराले अर्को पनि मुखमा हाल्दै गर्दा हेरेको र छोराको मुखमा औला हालेर बाहिर निकाल्दा हजमोला पाचक नभएर चामलमा किरा लाग्नबाट जोगाउनका लागि ल्याएर राखिएको औषधी भएको थाहा पाएको उहाँले बताउनुभयो।
“छोरा नै जीवित नरहने भएपछि म बाँचेर के गर्नु ?” भन्दै आवेगमा कठोर निर्णय लिँदै छोराको मुखबाट निकालेको त्यो ट्यावलेट आफू पनि खाएको काजलले सुनाउनुभयो। आमा काजल र छोरा सौरभ गम्भीर अवस्थामा पुगेपछि उहाँका सासु सुलोचना साफी र ससुरा मनिलाल साफीले दुवै जनालाई राजविराजस्थित गजेन्द्रनाराण सिंह अस्पताल लानुभएको थियो।
त्यहाँ उपचार सम्भव नभएपछि दुवैजनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगियो तर, आईसियु बेड खाली नभएपछि आमा छोरालाई नोबेल अस्पताल विराटनगर लैजाँदै गर्दा सौरभको मृत्यु भएको थियो।
“धरानमा आइसियु बेड नपाएपछि नाती र बुहारीलाई उपचारका लागि विराटनगर लग्ने क्रममा गाडीको सिटमा बस्ने वित्तिकै नाति सौरभको मृत्यु भयो। एकातिर नातिको शव र अर्कोतिर बुहारीलाई अस्पताल पुर्याउँदाको पीडा म व्यक्त गर्न सक्दिन” उहाँले भन्नुभयो, ‘‘कस्ले घर झगडाले यस्तो भयो भनेको पनि सुन्छु। हाम्रो छोरा विदेश गएको चार बर्ष भयो। यो घटनामा घर झगडा जोडिएको छैन।’’
अहिले बुहारी काजलको स्वास्थ्य अवस्था निको हुँदै गएको छ। अस्पतालबाट घर फर्किएपछि पनि काजल औषधी खाँदै छिन्” उहाँले भन्नुभयो। पति, सासु, ससुरासँग कुनै वादविवाद वा मतभेद नभएको अस्पतालबाट घर फर्किएकी काजलले सुनाउनुभयो।
काजल उहाँका सासु सुलोचनाले सौरभलाई विषादी नखुवाइएको दाबी गरिरहँदा प्रहरीले भने यो अनुसन्धानबाट मात्र स्पष्ट हुने बताएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले काजल अस्पतालबाट घर फर्किएको र अहिले पनि स्वास्थ्य लाभकै क्रममा रहेकाले अनुसन्धान नभएसम्म अहिले नै यस घट्नाबारे केही भन्न नमिल्ने बताउनुभयो।
उहाँले काजलको स्वास्थ्य अवस्था ठिक भएपछि थप अनुसन्धान सुरु गरिने र अनि मात्र घट्नाबारे स्पष्ट कारण खुल्ने बताउनुभयो।