सिराज खान
नेपालगन्ज, वैशाख २५ गते । भूमि समस्या समाधान आयोगले बाँकेमा थप ९३६ जना भूमिहीन दलित तथा सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गर्ने निर्णय गरेको छ ।
आयोगको कार्यालय नेपालगन्जमा बसेको सर्वपक्षीय बैठकले दोस्रो चरणमा विभिन्न स्थानीय तहमा जग्गाधनी प्रमाणपत्र वितरण गर्ने निर्णय गरेको हो । पहिलो चरणमा हालै मात्र कोहलपुर नगरपालिकाका तीन वडामा ११८ जनालाई लालपुर्जा वितरण गरिएको थियो ।
आयोगका अध्यक्ष घननाथ खनालले दोस्रो चरणमा जेठको पहिलो सातासम्म कोहलपुर नगरपालिकाको वडा नम्बर २, १४, १५, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ र २०, राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ र वैजनाथ गाउँपालिकाको वडा नम्बर ६ मा ९३६ जनालाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने जानकारी दिनुभयो ।
उहाँले पहिलो चरणमा कोहलपुर नगरपालिकाका तीन वडामा ११८ जनालाई लालपुर्जा वितरण कार्य सम्पन्न भएको र थपलाई वितरणका लागि प्रक्रिया अघि बढाइएको बताउनुभयो ।
आयोगका अध्यक्ष खनालले थप्नुभयो, ‘‘जिल्लाका राजनीतिक दलसहितको सर्वपक्षीय बैठकले नौवस्ता औद्योगिक क्षेत्रमा रहेको आवास क्षेत्रका लागि पनि लालपुर्जा वितरणका लागि पहल गर्ने निर्णय गरेको छ । स्थानीय तहमा आयोगलाई चाहिने स्रोतसाधनको व्यवस्थापन पालिकाले गर्ने निर्णय भएको छ ।’’
केही दिनअघि मात्रै जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर १ बाट भूमिहीन दलित र सुकुम्वासीलाई लालपुर्जा वितरण सुरु गरिएको थियो । हालसम्म जिल्लामा ५४ हजार हाराहारीमा लालपुर्जाका लागि आवेदन परेको छ ।
आगामी असारभित्र छ हजार लालपुर्जा वितरण गर्ने लक्ष्य रहेको भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष खनालले बताउनुभयो ।