• २५ वैशाख २०८२, बिहिबार

घरमै भत्ता बुझ्न पाउँदा ज्येष्ठ नागरिकलाई सहज

blog

घरघरमै पुगेर भत्ता वितरण गर्दै मध्यविन्दु १४ का अध्यक्ष मीन बहादुर दर्लामी ।

ज्ञानु पंगेनी 

मध्यविन्दु, वैशाख २५ गते । नवलपरासी पूर्व (नवलपुरको) मध्यविन्दु नगरपालिका १४ मा घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) वितरण सुरु गरिएको छ । घरमै वृद्ध भत्ता पाएपछि यस क्षेत्रका ज्येष्ठ नागरीहरूलाई सहज भएको हो ।  

वडा नं. १४, पालिकाको विकट पहाडी क्षेत्रमा पर्ने हुँदा वृद्धवृद्धालाई बैंकमा गई भत्ता बुझ्न सकस हुने भएकाले घरघरमै वृद्ध भत्ता वितरण गर्ने कार्य गरिएको वडाध्यक्ष मीन बहादुर दर्लामीले जानकारी दिनुभयो । सार्वजनिक सेवा प्रभावलाई सहज र प्रभावकारी बनाउनको लागि यस कार्य थालनी गरिएको गाउँपालिका अध्यक्ष दर्लामीले बताउनुभयो । 

दर्लामीले भन्नुभयो, ‘वडाका विकट बस्तीमा बसोबास गर्ने ज्येष्ठ नागरिकलाई बैकसम्म पुगेर भत्ता लिन निकै समस्या हुने गरेको थियो । उहाँहरूको सहजताका लागि हामीले बैकसँगको समन्वयमा  कर्मचारी पठाएर घरमै भत्ता दिने व्यवस्था गरेका हौँ ।’

बिहीबार (आज) वडाको भेडावारी गाउँमा भत्ता वितरण कार्य भइरहेको अध्यक्ष दर्लामीले बताउनुभयो । पहिलो दिन बुधवार राकाचुली क्षेत्रमा भत्ता वितरण गरिएको अध्यक्ष दर्लामीले जानकारी बताउनुभयो । 

सरकारले दिएको भत्ताले जीवन गुजारा चलाउन सहज भएपनि भत्ता लिन बैकसम्म धाउन वृद्ध वृद्धालाई धेरै सास्ती हुने गरेको थियो । तर, घरमै भत्ता वितरण भएपछि ज्येष्ठ नागरिकहरू निकै खुसी भएका छन् ।

८४ वर्षका शेर बहादुर थापा क्षेत्रीले भत्ता हात पर्दा निकै खुसी हुँदै भन्नुभयो । "हामीजस्ता बुढापाकालाई हिँडेर बैक जान गार्‍हाे भइरहेको थियो । अहिले त घरमै ल्याइदिनुभयो धेरै सजिलो भयो ।"

बैंकमा घण्टौसम्म लाइन बसेर वृद्ध भत्ता बुझ्दै आउनुभएकी ६२ वर्षीया शान्ति दर्लामी अहिले भत्ता आफ्नै घरबाट बुझ्न पाउँदा निकै उत्साहित हुनुभएको छ । ‘भत्ता बुझ्न हिँड्दा कहिलेकाहीँ त बाटोमै लडेर चोटपटक पनि लाग्थ्यो, जाडो मौसम, घामपानी, हावाहुरी आउने समयमा भत्ता लिन जान पनि सकिन्नथ्यो अब त घरमै ल्याइदिएपछि हामीलाई धेरै राहत मिल्यो । एकदमै खुसी लागेको छ,’ दर्लामीले भन्नुभयो । 

बैंकसम्म आउन वृद्ध वृद्धालाई भौगोलिक अवस्थाले गर्दा निकै समस्या भएपछि घरमै सेवा दिने निर्णय गरी अहिले कार्यान्वयन गरेको वडा अध्यक्ष दर्लामीको भनाइ छ । वडा नं. १४ मा २८४ जना ज्येष्ठ नागरिकले वृद्ध भत्ता बुझ्दै आएका छन् । यस कार्यलाई नियमित रूपमा तोकिएको मितिमा निरन्तरता दिइने अध्यक्ष दर्लामीले बताउनुभएको छ ।