• २५ वैशाख २०८२, बिहिबार

सूर्नयामा १० शय्याको अस्पताल निर्माणको काम धमाधम

blog

जिल्लाको मध्य भागमा रहेको सूर्नया गाउँपालिकाको पपितामा निर्माण भइरहेको दस शय्याको आधारभूत अस्पताल भवनको निर्माण कार्य ७० प्रतिशत पूरा । तस्बिर : केशब राज भट्ट

केशब राज भट्ट
बैतडी (बाशुलिङ्ग), वैशाख २५ गते । 
जिल्लाको मध्य भागमा रहेको सूर्नया गाउँपालिकामा दश शय्याको आधारभूत अस्पताल भवन निर्माणको काम धमाधम भइरहेको छ । गाउँपालिका केन्द्र रहेको सूर्नयाको वडा नम्बर ५ पपितामा निर्माण भइरहेको अस्पताल निर्माण हालसम्म करिब ७० प्रतिशत काम भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ‘एक पालिका, एक अस्पताल’ बनाउने योजनाअनुसार सूर्नया गाउँपालिका पनि दश शय्याको अस्पताल निर्माण भइरहेको हो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी चौध करोड रुपियाँमा सिएम एसके शिवलिङ जेभीसँग विसं २०७८ मा भवन निर्माणको ठेक्का सम्झौता भएको थियो ।

ठेक्काको म्याद थपेर आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सूर्नया गाउँपालिका सवइञ्जिनियर शेरबहादुर विष्टले जानकारी दिनुभयो ।

दस शय्या अस्पतालको ‘ए’ ब्लकमा तेस्रो तलाको छत ढलान गरी ‘बी’ ब्लकमा काम भइरहेको सवइञ्जिनियर विष्टले जानकारी दिनुभयो । ‘‘पछिल्लो समय अस्पताल निर्माण धमाधम भइरहेको छ । करिब ७० प्रतिशत काम भइसकेकाले यथाशीघ्र सम्पन्न हुने विश्वास लिएका छौं ।,’’ उहाँले भन्नुभयो ।

यो अस्पताल सञ्चालनमा आएपछि पालिका क्षेत्रबाट उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुनेछ । अहिले सूनर्याका बासिन्दा सामान्यबाहेक उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन वा जिल्ला अस्पताल बैतडी जान बाध्य छन् ।

सूर्नया गाउँपालिका आठ वटा वडामा ६ वटा स्वास्थ्य चौकी, १४ वटा आधारभूत स्वास्थ्य केन्द्र तथा बर्थिङ सेन्टर र ६ वटा सामुदायिक स्वास्थ्य एकाइ तथा खोप क्लिनिक सञ्चालनमा छन् । दस शय्याको अस्पतालबाट मेडिकल अधिकृत (एमबीबीएस) ले सेवा दिने हुँदा सामान्य खालका शल्यक्रिया समेत हुने गाउँपालिकाकाको स्वाथ्य शाखा प्रमुख रामसिंह महराले बताउनुभयो ।

अस्पताल सञ्चालनमा आएपछि फार्मेसी, रेडियोग्राफी, आयुर्वेदिक जस्ता सेवा पनि थपिने अपेक्ष रहेको उहाँले बताउनुभयो । पालिकामा स्वास्थ्य सेवा पहिलो प्राथमिकतामा राखेर नागरिकलाई सस्तो, सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष अमरबहादुर कुँवरले बताउनुभयो ।