• २५ वैशाख २०८२, बिहिबार

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा सरकारले पहल बढाउनुपर्छ : सांसद आचार्य

blog

प्रतिनिधिसभा सदस्य भीमप्रसाद आचार्य

काठमाडौँ, वैशाख २५ गते । प्रतिनिधिसभा सदस्य भीमप्रसाद आचार्यले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित सञ्चालनका लागि सरकारले पहल बढाउनुपर्ने बताउनुभएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्नुुहुँदै उहाँले विमानस्थललाई नियमित सञ्चालन गराउनका लागि पहल बढाउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले विमानस्थल सञ्चालनका लागि व्यवसायीहरूले आन्दोलन गरिरहेको बताउनुुहुँदै सरकारले विशेष चासो दिनुपर्नेमा जोड दिनुभयो । उहाँले म्यानपावर कम्पनी, स्वास्थ्य जाँच गर्ने कार्यालय, भिसा सहजीकरण कार्यालयलगायतका अत्यावश्यक सरकारीहरू स्थापना गरिनुपर्ने जिकिर गर्नुभयो ।

उहाँले व्यवसायीहरूले विमानस्थल नचल्दा मर्कामा परेकोले उनीहरूले क्षतिपूर्ति समेत माग गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद आचार्यले भन्नुभयो, “भैरहवा विमानस्थल सञ्चालनको लागि त्यहाँ अहिले व्यवसायीहरूले आन्दोलन गरिरहेका छन् । त्यसमा सरकारी पहल बढाउनुपर्‍यो । म्यानपावर कम्पनीले त्यहाँबाट सेवा दिनुपर्ने, स्वास्थ्य जाँच गर्ने कार्यालयको व्यवस्था गर्नुपर्ने, एयरपोर्टमा खास समयका लागि सरकारी सहुलियत उपलब्ध गराउनुपर्ने, भिसा सहजीकरण कार्यालय खोली काम सञ्चालन गरी व्यवसायीहरूको माग सम्बोधन गरियोस् ।” 

उहाँले कपिलवस्तुको तिलौराकोट उत्खनन, पुनर्निर्माण र संरक्षणको पखाइमा रहेकाले त्यसका लागि थप जग्गा अधिग्रहण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले वार्षिक डेढ लाख पर्यटक पर्यटक जाने तिलौराकोटमा व्यवस्था कमजोर भएको गुनासो गर्नुभयो ।