काठमाडौँ, वैशाख २५ गते । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा तार्केश्वर नगरपालिका–२ बस्ने नुवाकोट विदुर नगरपालिका–१३ घर भएका २८ वर्षीय जसमान तामाङ, काठमाडौँ महानगरपलिका–९ बस्ने सोही महानगरपालिका–१६ घर भएका ३६ वर्षीय भुपाल श्रेष्ठ र नागार्जुन नगरपालिका–५ बस्ने स्याङ्जा गल्याङ नगरपालिका–४ घर भएका ४८ वर्षीय मिन बहादुर थापा रहेका छन् ।
पक्राउमध्ये जसमानले पोल्यान्ड पठाइदिन्छु भन्दै दुई जना पीडितबाट पाँच लाख २० हजार रूपियाँ, भुपालले क्यानाडा पठाइदिन्छु भन्दै तीन जना पीडितबाट आठ लाख रूपियाँ र मिनबहादुरले क्यानाडा पठाइदिन्छु भन्दै तीन जना पीडितबाट ७५ लाख रूपियाँ लिई सम्पर्कविहीन भएका थिए ।
पैसा लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जसमानलाई काठमाडौँ महानगरपलिका–१२ बाट मङ्गलबार, भुपाललाई काठमाडौँ महानगरपालिका–२६ बाट बुधबार र मिनबहादुरलाई नागार्जुन नगरपालिका–५ बाट बुधबार पक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।