• २५ वैशाख २०८२, बिहिबार

विपन्न परिवारलाई विद्युतीय चुलो

blog

विपन्न परिवारलाई विद्युतीय चुलो वितरण गर्दै काठेखोला गाउँपालिका वडा नं. २ का वडाध्यक्ष विद्यापति शर्मा । तस्बिरः अर्जुन कार्की

अर्जुन कार्की

काठेखोला (बागलुङ), वैशाख २५ गते । बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराले विपन्न नागरिकलाई विद्युतीय चुलो वितरण गरेको छ । भीमापोखराले चालु आर्थिक वर्ष २०८१–८२ मा वडाले पछि परेको समुदायका तीनसय विपन्न परिवारलाई निःशुल्क विद्युतीय चुलो वितरण गरेको हो ।

नेपालमा विद्युतीय चुलोको दिगो बजार विकास परियोजनाले वडाको योजनामा साथ दिएपछि चालु वर्षमै तीन सय परिवारका लागि निःशुल्क विद्युतीय चुलो वितरण गरेको वडाध्यक्ष विद्यापति शर्माले बताउनुभयो । 

उहाँले ग्यासको प्रयोग गर्दा देश बाहिर अत्यधिक रकम जाने हुँदा त्यसलाई रोक्न विद्युतीय चुलोको प्रयोगलाई वडाले जोड दिएको बताउनुभयो । खुल्ला बजारमा पाँच हजार पाँचसय पर्ने नेपाली उत्पादन कुलायन ब्रान्डको चुलो परियोजनाले चार हजार ५ सय रुपियाँमा बिक्री गर्दै आएको थियो । 

परियोजनाले आफ्नो मूल्यमा विभिन्न दातृ निकायसँग सहकार्य गरेर ५० प्रतिशत अनुदान दिएको र बाँकी ५० प्रतिशत वडा कार्यालयले व्यवस्थापन गरेर निःशुल्क चुलो वितरण गरिएको शर्माले जानकारी दिनुभयो । चुलोको पावर सकेट र १ वटा पानी तताउने दिउरी स्थानीयले एक हजार रुपियाँमा खरिद गरेका छन् । 

वडाअध्यक्ष शर्माले पहिलो चरणमा दलित विपन्न परिवारलाई चुलो वितरण गरिएको बताउँदै आगामी वर्ष सबै वडाबासीका घरमा विद्युतीय चुलो पुर्‍याउने लक्ष्य लिएको जानकारी दिनुभयो । ‘पहिलो चरणमा विपन्न र पछि परेको दलित समुदायका लागि निःशुल्क चुलो उपलब्ध गराइएको छ’ वडाध्यक्ष शर्माले भन्नुभयो, ‘आगामी वर्ष सबै वडाबासीमा घरमा चुलो पुर्‍याउने लक्ष्य लिएको छ ।’ 

आजभोलि प्रत्येक घरमा ग्यास चुलोको प्रयोग भइरहेको र जसलेगर्दा अत्यधिक रकम देशबाहिर गइरहेको वडाअध्यक्ष शर्माको भनाइ छ । उहाँले विद्युतीय चुलो प्रयोग गर्दा विद्युतको महशुल देशमै रहने हुँदा देशभित्रको रकम बाहिर जान विद्युतीय चुलोले रोक्ने बताउनुभयो । 

विद्युतीय चुलो वितरण पूर्व नेपालमा विद्युतिय चुलोको दिगो बजार विकास परियोजनाले वडाका घर–घरमा पुगेर चुलोको प्रयोगका विधि, यसको फाइदा बेफाइदाका विषयमा सचेतना कार्यक्रम सञ्चालन गरेको थियो । चुलो वितरणपछि त्यसको जडान, विद्युतीय प्वाइन्टहरूको जाँचलगायतका काम पनि परियोजनाले नै गर्ने परियोजनाको विद्युतीय चुलोका बागलुङ वितरक धौलागिरी मेसिनरी एन्ड टुल्स सप्लायर्सका प्रोपाइटर सूर्य गौतमले बताउनुभयो ।

नेपालमा विद्युतीय चुलोको दिगो बजार विकास परियोजनाले बागलुङको विभिन्न सङ्घ संस्था तथा स्थानीय सरकारसँग समन्वय गरेर दुई हजारभन्दा धेरै चुलो वितरण गरिसकेको जनाएको छ । दुई वर्ष मर्मत वारेन्टीसहित चुलोमा प्रयोग गरिने भाँडाबर्तन समेत परियोजनाले उपलव्ध गराउँदै आएको गौतमले बताउनुभयो ।