• २८ वैशाख २०८२, आइतबार

पुर्जाको आसमा सुकुमवासी

blog

कैलालीको घोडाघोडी नगरपालिका–१०, आमखैया मुक्त कमैया शिविर । तस्बिर : चाँदनी आचार्य फाइल तस्बिर

बुटवल समाचारदाता

बुटवल, वैशाख २५ गते । रुपन्देहीको कञ्चन गाउँपालिकाका १३ हजार सुकुमवासी जग्गाको पुर्जा पाउने आशामा दिन गनेर बसेका छन् । जिल्लामै सबैभन्दा धेरै सुकुमवासीको समस्या कञ्चन गाउँपालिकामै छ ।    

२०७७ सालमा गठित भूमि आयोगद्वारा लिइएको लगत सङ्कलनमा कञ्चनमा भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी गरी करिब १३ हजारभन्दा बढीले आवेदन भरेका थिए । 

आवेदन फाराम भरेकी कञ्चन–५, बेलभरियाकी मालती चौधरीले यसअघि दुई पटक सुकुमवासीको फाराम भरे पनि अहिलेसम्म पुर्जा नपाएको बताउनुभयो । उहाँले पुर्जा पाउने आशामा आफूहरूले तीन दशक बिताए पनि पुर्जा नपाएको भन्दै जग्गाको पुर्जा नहुँदा केही कामका लागि घरजग्गा बैङ्कमा राखेर कारोबार गर्न नपाएको गुनासो गर्नुभयो ।  

कञ्चनमा पुर्जा वितरणका लागि अन्तिम तयारी भइरहँदा भूमि आयोग विघटन भएपछि कञ्चनका सुकुमवासीको पुर्जा पाउने आशा दिन गन्तीमा चलेको छ ।  जग्गाधनी पुर्जा वितरणका लागि सम्पूर्ण तयारी भई वडा नं. ५ अन्तर्गत ६४५ घरधुरीको करिब एक हजार पाँच सय कित्ताको राजस्व मूल्याङ्कनसहित १५ दिने हकदाबी सूचना प्रकाशित भएको थियो । 

त्यसबेला राजस्व मूल्याङ्कन अत्यधिक भएको भन्दै कञ्चनका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीसहित विभिन्न राजनीतिक दलले समेत असन्तुष्टि जनाउँदै राजस्वको पुनः मूल्याङ्कन गर्नुपर्ने माग राख्दै ज्ञापनपत्रसमेत दिएका थिए ।

कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चनका सबै भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यस्थित बसोबासीले सहज रूपमा जग्गाधनी पुर्जा पाउने अन्तिम समय आइपुगेको बताउनुभयो ।

राष्ट्रिय भूमि आयोग रुपन्देहीले जग्गाको राजस्व मूल्याङ्कनलगायतका सरोकारवालालाई जानकारी गराउने उद्देश्यका साथ कञ्चनको वडा नं. ५ को कार्यालयमा सर्वपक्षीय अन्तर्क्रिया कार्यक्रम गरेको हो । 

जिल्ला भूमि आयोग रुपन्देहीका अध्यक्ष कुमार थापाले देशभरका करिब १४ लाख भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीले एक पटकका लागि सहज रूपमा जग्गाधनी पुर्जा पाउने गरी सरकारले तयारी गरिरहेको बताउनुभयो ।