बुलबुले समाचारदाता
सुर्खेत, वैशाख २५ गते । निर्माण सम्झौता भएका तर निर्माणमा अलपत्र परेका आयोजना अघि बढाउन कर्णाली प्रदेश सरकारले चासो देखाएको छ । प्रदेश मुख्यमन्त्री यामलाल कँडेलले ३५ वटा महत्वपूर्ण आयोजना अलपत्र परेपछि सम्बन्धित निर्माण व्यवसायीलाई निर्धारित समयमै योजना अघि बढाउन निर्देशन दिनुभएको छ ।
१० वटै जिल्लाका पूर्वाधार हेर्ने कार्यालय र निर्माण व्यवसायीलाई बोलाएर उहाँले काम अघि बढाउन कडा निर्देशन दिनुभएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतका कार्यालयहरूबाट सञ्चालित प्रगति सन्तोषजनक नभएका आयोजनाहरूका निर्माण व्यवसायी र सम्बन्धित कार्यालयका प्रमुखहरूलाई बोलाएर सुस्त गतिमा भइरहेका कामको विवरण माग गरिएको थियो ।
अलपत्र अवस्थामा रहेका ३५ योजनालाई छिटो अघि बढाउन निर्देशन दिइएको छ । साधनस्रोत र बजेट हुँदाहुँदै पनि योजना अलपत्र पार्ने तथा आयोजना होल्ड गर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गर्ने नीति प्रदेश सरकारले अवलम्बन गरेको छ । काम गर्दा केही असहज भए सहज बनाउने तथा काम गर्ने वातावरण हुँदाहुँदै काम अलपत्र पार्ने निर्माण व्यवसायीलाई निगरानीमा राखिएको जनाएको छ ।
केही योजनाको भने मिति नै तोकेर निर्माण सम्पन्न गर्नुपर्ने उल्लेख गरिएको छ । मुख्यमन्त्री कँडेलले अलपत्र योजनाको काम तोकिएकै मितिमा सक्नुपर्ने बताउनुभयो । चालु आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने योजनाको विवरण सङ्कलन गर्नसमेत मुख्यमन्त्री कँडेलले सबै सम्बन्धित कार्यालयलाई निर्देशन दिनुभएको हो । अलपत्र परेका केही योजनाको भने समय नै तोकेर काम सम्पन्न गर्न भनिएको छ । मोतीदान लालसुब्बा मेन्द्रो जेभीलाई दैलेख जिल्लामा रहेको माथिल्लो डुङ्गेश्वर–दुल्लु–बेहुली–कालीकोट सडक र साङ्गेताडा विन्द्रासैनी–चामुण्डा सडक जेठभित्र सम्पन्न गर्न निर्देशन दिइएको छ ।
त्रिवेणी–नर्कु–इल–सडकलाई पनि समयमै काम सम्पन्न गर्न भनिएको छ । उक्त सडक खण्डको जिम्मा सूर्य–बाङ्गणी जेभीले लिएको छ । यसै गरी नौमुले–विरुवा, सिद्धान्त–शृङ्गेश्वर आयोजनालाई समेत थपिएको म्यादभित्र काम सम्पन्न गर्न मुख्यमन्त्रीले निर्देशन दिनुभएको छ । गाल्वा निर्माण सेवालाई तल्लो करेली पक्की पुल निर्माणको काम समयमै सम्पन्न गर्न सुझाइएको छ । कुइने–जामु–बाबियाचौर–भक्तरीलाई पनि तोकिएकै समयमा निर्माण सम्पन्न गर्न भनिएको छ ।
प्रदेश राजधानी वीरेन्द्रनगर प्लानिङ क्षेत्र सहरी सडकलाई समेत तोकिएको मितिमा काम सम्पन्न गर्न निर्देशन दिइएको छ भने घाटगाउँ–गटु–सालम–कोरलाबास–कुल्लीमोर सडक निर्माणको काम समयमै सम्पन्न गर्न निर्देशन दिइएको हो । मुख्यमन्त्री कँडेलले समयमै काम सम्पन्न नभए कारबाही गरिनेसमेत बताउनुभयो । बड्डीचौर–ब्युरेनी–बाबियाचौर–विद्यापुर सडकको कामलाई तीव्रता दिन मुख्यमन्त्री कँडेलले निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ । यसै गरी कुइने–जामु–बाँबियाचौर प्याकेज–१ को काम तत्कालै सम्पन्न गर्न सुझाव दिइएको छ । यी आयोजना प्रदेश सरकारको निगरानीमा छन् । मिति नै तोकेर काम सम्पन्न गर्न भनिएको छ । तोकिएको मितिमा काम सम्पन्न नभए कानुनी कारबाहीको प्रव्रिmयामा लैजाने जनाइएको छ । आयोजना कार्यान्वयनमा ढिलाइ हुँदा प्रदेशको विकास खर्चसमेत कमजोर हुँदै आएको छ । प्रदेश सरकारले यो वर्ष भने पुँजीगत खर्च बढाउन पूर्वाधार निर्माणमा जोड दिएको छ । योजना कार्यान्वयनको नीति नै निर्माण गरेर काम अघि बढाइएको हो । सोही योजना अनुरूप प्रदेश सरकारले काम गरिरहेको छ; जसअनुसार मुख्यमन्त्री कँडेल स्वयम्ले आयोजनाहरूको स्थलगत अनुगमन गर्ने र सम्बन्धित निकायहरूलाई निर्देशन दिने गर्नुभएको छ ।