• २३ वैशाख २०८२, मङ्गलबार

वाइसिएल नेपाल ताप्लेजुङको सम्मेलन सुरु

blog

वाइसिएल नेपाल ताप्लेजुङको सम्मेलन उद्घाटन कार्यक्रमका अतिथि । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, वैशाख २३ गते । नेकपा (माओवादी केन्द्र) को सहायक सङ्गठनका रुपमा रहेको योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपाल ताप्लेजुङको सम्मेलन सुरु भएको हो । वाइसिएल नेपालको तेस्रो जिल्ला सम्मेलन मङ्गलबार अपराह्नपछि सदरमुकाम फुङ्लिङमा सुरु भएको हो ।

नयाँ नेतृत्व चयन गर्नेगरी सुरु भएको जिल्ला सम्मेलनको नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग) ले उद्घाटन गर्नुभएको छ । सम्मेलन उद्घाटन कार्यक्रममा वाइसिएल नेपालका उपाध्यक्ष एवम् माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय मिङ्माडण्डु शेर्पा, माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय पर्शुराम कार्की उपस्थित हुनुभएको छ ।

यस्तै वाइसिएलका केन्द्रीय सचिव एवम् कोशी प्रदेश इन्चार्ज डम्बर पुलामी (कर्म), माओवादीका जिल्ला संयोजक विष्णुकुमार लिम्बू, प्रदेश कमिटीका सदस्य लगायतका पार्टी तथा सङ्गठनका नेतृत्वहरुको उपस्थिति रहेको छ । सम्मेलनको औपचारिक कार्यक्रम सुरु हुनुअघि र्‍याली आयोजना गरी फुङ्लिङ बजार परिक्रमा गरिएको थियो । भ्रष्टाचार नियन्त्रण गर, विकृति विसङ्गति नियन्त्रण गरजस्ता ¥यालीमा नारा लगाइएका थिए ।

यता सकेसम्म सर्वसम्मत नयाँ नेतृत्व चयन गर्नेगरी सम्मेलन सुरु गरिएको वाइसिएलका जिल्ला अध्यक्ष कैलास माबोले जानकारी दिनुभयो । सम्मेलन उद्घाटनमा शुभकामना मन्तव्य राख्नुहुने वक्ताले पनि नयाँ नेतृत्व तथा कार्यसमिति सर्वसम्मत बनाउनुपर्नेमा जोड दिनुभएको छ । अध्यक्ष माबोका अनुसार सम्मेलनमा ३०० बढी प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहेको छ ।