• २३ वैशाख २०८२, मङ्गलबार

जुडो टोली भुटान प्रस्थान

blog

भुटान जान जुडो टोली ।

काठमाडौँ, वैशाख २३ गते । प्रथम दक्षिण एसियाली युथ जुडो डेभलोप्मेन्ट प्रतियोगिता तथा क्याम्पमा सहभागी हुन ६ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली मङ्गलबार भुटानको थिम्पुर प्रस्थान गरेको छ । 

मे ७ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) का चार पुरुष र दुई महिला गरी ६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुष ४० केजीमुनि विसाज महर्जन र सदिन तामाङ, ५० केजीमुनि जुविन महर्जन तथा ३६ केजीमुनि साइमन तामाङले खेल्नुहुनेछ । 

महिला ५७ केजीमुनि श्रष्टा नापित तथा ३६ केजीमुनि जेनिशा वाइबाबिच प्रतिस्पर्धा हुनेछ । प्रशिक्षकमा योगन्द्र विष्ट, अफिसियलमा नवीन महर्जन, आईटी अफिसियलमा लखनराज थापा मगर र कुलबहादुर कुँवर तथा निर्णायकमा किरण गडेल रहनुभएको छ । 

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष वज्राचार्यलगायतले बिदाइ गर्नुभयो । प्रतियोगितामा नेपालसहित भारत, भुटान र बङ्गलादेशका आठ टिमको सहभागिता रहने एमएमएसीका मुख्य प्रशिक्षक धर्मकुमार श्रेष्ठले जानकारी दिनुभयो ।