यदुप्रसाद भट्ट
मनाङ, वैशाख २३ गते । अभ्यास खेलका लागि मनाङ आएको पुरुष राष्ट्रिय फुटबल टोलीलाई मनाङमा औपचारिक स्वागत गरिएको छ ।
चामे गाउँपालिकाले एक औपचारिक कार्यक्रम गरी फुटबल प्रशिक्षक, म्यानेजर एवं खेलाडीलाई औपचारिक स्वागत गरेको हो । टोलीलाई चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले स्वागत गर्नुभएको थियो ।
एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाली फुटबल राष्ट्रिय टोली पूर्वअभ्यासका लागि मनाङ आएको हो । अखिल नेपाल फुटबल सङ्घका अनुसार टोलीले जुन १० मा लाओसविरुद्ध समूह चरणको दोस्रो खेलमा प्रतिस्पर्धा गर्दै छ । लाओसको मौसम अनुकुल हुनका लागि मनाङमा अभ्यास गराउन लागिएको हो ।
एन्फाको अनुसार एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली तयारी अभ्यासमा जुटेको हो । अस्टेलियाका फुटबल प्रशिक्षक म्याट रसको राष्ट्रिय टोलीसँग यो तेस्रो अन्तर्राष्ट्रिय खेल हुने भएको हो । टोलीले मनाङका विभिन्न स्थानमा खेल अभ्यास गरिरहेको छ ।
नेपाली टोली छनोटअन्तर्गत समूह एफमा रहेको छ । यसअघि पहिलो खेलमा मलेसियाविरुद्ध प्रतिस्पर्धा गरेको नेपालले अब लाओस, भियतनामसँग प्रतिस्पर्धा गर्ने छ । भियतनामसँग भने अक्टोबर ९ मा खेल्ने छ । नेपालले छनोटअन्तर्गत समूह चरणको पहिलो खेल मलेसियासँग खेलिसकेको छ ।
अभ्यासका लागि केही दिनअघि प्रशिक्षक रसले अन्तिम ३० जना खेलाडीलाई प्रशिक्षणमा राख्नुभएको छ । छनोट खेलपूर्व नेपाली टोलीले जुन ५ मा हङकङमासमेत मैत्रीपूर्ण खेलमा सहभागिता जनाउने छ ।
फिफा विन्डोअन्तर्गत हङकङविरुद्ध भने यो दोस्रो मैत्रीपूर्ण खेल हुने उहाँको भनाइ छ । २०४५ सालमा पहिलोपटक दुवैबिच खेल हुँदा नतिजा भने गोलरहित बराबरीमा सकिएको थियो ।