शशिधर पराजुली
विराटनगर, वैशाख २३ गते । कोशी प्रदेश सरकारको प्रमुख साझेदार दल नेपाली कांग्रेस सरकारको कार्यशैलीसँग असन्तुष्ट देखिएको छ ।
सत्ता साझेदार दल नेपाली कांग्रेससँग कुनै सल्लाह नगरेको भन्दै नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङ असन्तुष्ट देखिँदै आउनुभएको छ । यद्यपि असन्तुष्टिको विषय भने उहाँले स्पष्ट गर्नुभएको छैन ।
सरकारले प्रदेशमा लगानी सम्मेलन, पर्यटन वर्ष आयोजना गर्दा तथा सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटबारे समेत मुख्यमन्त्रीले कुनै सल्लाह र छलफल नगरेकोमा उहाँ असन्तुष्ट देखिनुभएको हो । उहाँले नेकपा (एमाले)ले प्रदेश सरकार एकलौटी चलाएको उल्लेख गर्नुभएको छ ।
‘कोशी प्रदेश सरकारको एकलौटी रबैयाप्रति घोर विमती छ’’ उहाँले लेख्नुभएको छ, ‘‘यस्तो सरकारमा रहनुभन्दा प्रतिपक्षी हुनुमा गर्व गर्छु ।’’ सांसद् तामाङले कांग्रेस संसदीय दलका नेता उद्धव थापा, कांग्रेस झापा सभापति देउमान थेबेसहितका नेताहरूलाई ट्याग गरेर सरकारप्रति आक्रोश व्यक्त गर्नुभएको छ ।
कोशी प्रदेशमा नेपाली कांग्रेस र एमालेका बिचमा सत्ता गठबन्धन छ । प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट तीन जना मन्त्री सरकारमा छन् । सरकारको कामप्रति यसअघि कांग्रेस संसदीय दलमा पनि प्रश्न उठेको थियो ।
प्रमुख सचेतक तामाङले सरकारले कुनै सल्लाह नगरी काम गरेकोले सार्वजनिक रूपमा टिप्पणी गरेको र त्यो आफ्नो नितान्त व्यक्तिगत विचार भएको पनि उहाँले बताउनुभयो । ‘‘यो मेरो व्यक्तिगत विचार हो । मलाई सरकारले गरेको कामका बारेमा लेखेको हो’’ उहाँले भन्नुभयो, ‘‘यो दलको धारणा भने होइन ।’’