नौरते नेपाली
सिँजा (जुम्ला), वैशाख २३ गते । नेपाली सेनाले दुर्गम क्षेत्रका नागरिकलाई बृहत् निःशुल्क स्वास्थ्य सेवा दिएको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिकामा सञ्चालित नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय ५६ जनाले सेवा लिएका छन् ।
जुम्लास्थित नेपाली सेनाको देवी दत्त गणको आयोजनामा सोमबार कनकासुन्दरी–६ गोरुचौर स्थित आधारभुत विद्यालयमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । स्वास्थ्य शिविरमा नं २४ गुल्मका डाक्टर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका जनरल फिजिसियन, स्त्रीरोग, दन्तरोग विशेषज्ञ चिकित्सक सहितको मेडिकल टोलीले स्थानीयवासीको स्वास्थ्य चेकजाँच गरेको छ ।
यहाँको कनकासुन्दरी, सिंजा, हिमा, तातोपानी र तिला गाउँपालिका तथा मुगु जिल्लाको खत्याड गाउँपालिकामा बसोवास गर्ने स्थानीय नागरिकलाई लक्षित गरि सञ्चालन गरिएको स्वास्थ्य शिविरवाट महिला तीन सय १९, पुरूष १ सय ८४ र बालबालिका ५३ गरि जम्मा ५ सय ५६ जनाले सेवा लिएको देवी दत्त गण जुम्लाका गणपति प्रमुख सेनानी धिरज थापाले जानकारी दिनुभयो ।
महिला, बालबालिका र ज्येष्ठ नागरिकको उक्त स्वास्थ्य शिविर संचालनले नागरिक–सैनिक सम्बन्धलाई थप मजबुद बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाली सेनाले जनाएको छ । कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदर प्रासद आचार्यले पालिकाका सर्वसाधारणको स्वास्थ्यलाई ध्यानमा राखी निःशुल्क स्वास्थ्य शिविर गरेकोमा नेपाली सेनाले नमुना काम गरेको बताउनुभयो ।
यस्तै मेजर रामेश्वर कार्कीले नेपाली सेनाबाट पहिलो पटक स्वास्थ्य उपचार सेवा पाएपछि स्थानीयले खुसी व्यक्त गरेको बताउनुभयो । नेपाली सेना र नागरिक बिच पारस्परिक सम्बन्ध बढाउने उद्देश्य सहित दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा सञ्चालन गरेको उहाँको भनाइ छ । सेनाको सामाजिक तथा जनहित कार्य अन्तर्गत स्वास्थ्य शिविरको आयोजना गरिएको कार्कीले बताउनुभयो ।