काठमाडौँ, वैशाख २३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले दक्ष जनशक्ति विदेशिनुबाट रोक्न सम्बन्धित पक्षले उपयुक्त कदम चाल्न आग्रह गर्नुभयो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालको २३ औँ स्थापना दिवसका अवसरमा मङ्गलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले पछिल्लो समय दक्ष चिकित्सक विदेशिनु चिन्ता विषय भएको बताउनुहुँदै यसलाई रोक्न सम्बन्धित पक्षले उपयुक्त कदम चाल्न आग्रह गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रमा सुधार हुँदाहुँदै पनि सम्पूर्ण जनशक्तिले प्रयाप्त अवसर नपाएर विदेशीने क्रम बढ्ने राज्यका लागि चिन्ताको विषय हो । दश जनशक्ति विदेशिनुबाट रोक्न सम्बन्धित पक्षले उपयुक्त कदम चाल्नु पर्छ ।”
उहाँले चिकित्सक पेसालाई सेवा भावको रूपमा हेर्न पनि आग्रह गर्नुभयो । उहाँले प्रतिष्ठानलाई आगामी दिनमा नयाँनयाँ बिदामा जनशक्ति उत्पादन गर्ने शुभकामना व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “न्याम्सअन्तर्गतका अस्पतालले नागरिकलाई गुणस्तरीय र विशिष्टिकृत सेवा पुर्याउँदै आएको छ र यो सेवा आगामी दिनमा अझै बढ्ने विश्वास छ ।” उहाँले नेपालमानै स्तरीय शिक्षा र उपचार हुन थालेको आफैँले अनुभव गरेको बताउनुभयो ।