• २३ वैशाख २०८२, मङ्गलबार

बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

blog

दुर्घटनाग्रस्त बस । तस्बिर : कोकिला भण्डारी

कोकिला भण्डारी
धनकुटा, वैशाख २३ गते ।
धनकुटाको जिरोप्वाइन्ट नजिकैको गोलाईमा बस दुर्घटना परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । धनकुटा नगरपालिका–६ गोठगाँउस्थित कोशी लोकमार्गमा धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुबाहक बस सडकबाट झण्डै ५० मिटर तल खसेको थियो । सो दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका बस चालक सुनसरीको धरान १३ का ५१ वर्षीय रुद्र तामाङको उपचारका क्रममा मृत्यु भएको छ ।

त्यस्तै, भोजपुर षडानन्द नगरपालिका १३ का अर्का घाइते वर्ष ५८ का लीलाबहादुर श्रेष्ठको पनि उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ ।

सो दुर्घटनामा परी धनकुटा नगरपालिका–६ बस्ने ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको उपचारको क्रममा धनकुटा अस्पतालमा मृत्यु भएको थियो । हालसम्म मृत्यु हुनेको सङ्ख्या तीन पुगेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

सोमबार धरानबाट धनकुटा आउँदै गरेको १ ख. २१७७ नम्बरको बस धनकुटाको गोठगाउँमा दुर्घटना भएको थियो । दुर्घटनामा परी १४ जना घाइते भएका छन् । सो दुर्घटनामा परी घाइते भएका अन्य घाइतेहरूको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।