मुक्तिनाथ समाचारदाता
मुक्तिनाथ (मुस्ताङ), वैशाख २३ गते । कानुनी अज्ञानताका कारण अपराधजन्य घटना बढ्न सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी टोली सचेतना कार्यक्रम गर्दै गाउँ गाउँसम्म पुगेको छ । पाँच वटै स्थानीय तहको बस्ती तथा विद्यालयमा पुगेर नागरिकलक्षित सचेतनामूलक अभियान सञ्चालन गरेको हो ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत लेक लाग्ने समस्या, बालविवाह, आत्महत्या, साइबर अपराध, लागुऔषध, घरेलु हिंसा, मदिरा पदार्थ सेवन, गाउँघरमा भेटिने अपरिचित व्यक्ति तथा आपराधिक गतिविधिमा संलग्नबारे प्रहरीलाई सूचना दिने तरिकाका बारेमा प्रहरीले नागरिकलाई जानकारी गराउने गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विशाल अधिकारीले बताउनुभयो ।
अभियानमा समुदायस्तरमा हुन सक्ने जबरजस्ती करणीको अवस्था, जबरजस्ती करणी प्रमाणित गर्ने आधार र कानुनी उपचारसहित अन्य समुदाय अनुकूल हुने सचेतनामूलक जानकारी गराउने गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहनुभएका
अधिकारीले बताउनुभयो ।
प्रहरी निरीक्षक अधिकारी भन्नुहुन्छ, “गाउँ गाउँमा अपराध न्यूनीकरणका लागि समुदायमा सञ्चालित अभियान प्रभावकारी देखिएको छ, हामीले जहाँ भेट्यो, त्यही सचेतना फैलाउने गरी टोली परिचालन गरेका छौ ।” जिल्ला प्रहरी कार्यालय जोमसोम, इलाका प्रहरी कार्यालयसहित प्रहरी चौकीबाट समेत खटिने प्रहरीलाई समुदायस्तरमा पुगेर सन्देश फैलाउने अभियानबारे विशेष प्रशिक्षण दिने गरिएको छ ।
सूचना र सञ्चारको पहुँचबाहिर रहेका बस्तीमा प्रहरीले पुगेर दिने गरेको सन्देशमूलक गतिविधिले अपराधजन्य गतिविधि न्यूनीकरणका साथै समाजमा सुरक्षा प्रत्याभूतिको महसुस भएको ल्होमन्थाङ गाउँपालिका–२, छोसेरमा रहेको दिव्यदीप माध्यमिक विद्यालयका प्रधानाध्यापक कमलेशकुमार त्रिपाठीले बताउनुभयो । विभिन्न घटनामा कानुनी उपचार र दोषीप्रति कानुनी व्यवस्थासम्बन्धी ज्ञानका विषयमा प्रहरीको अभियानले स्थानीयवासीलाई सहज भएकाले विद्यालयमा समेत प्रहरीको सहभागितामा विभिन्न कार्यक्रम गर्ने गरिएको प्रधानाध्यापक त्रिपाठीको भनाइ छ ।
प्रहरीले सडक सञ्जाल जोडिएका क्षेत्रमा ट्राफिक जनचेतनामूलक अभियान सञ्चालन गर्ने गरेको छ भने अति विकट बस्तीमा सामाजिक रूपमा हुने अपराधकेन्द्रित प्रहरी युनिटलाई परिचालन गर्ने गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङमा जिल्ला प्रहरी कार्यालय, पर्यटक प्रहरी, ट्राफिक प्रहरी कार्यालय, पाँच वटा इलाका प्रहरी कार्यालयसहित १९ युनिट रहेका छन् ।