राजन रावत
हुम्ला, वैशाख २३ गते । कर्णाली कोरिडोरको याङ्चुकुनाको अग्लो कडा चट्टान विस्फोट गर्न एक्साभेटरको बकेटमा चढेर प्वाल पार्न मजदुर व्यस्त छन् । कडा चट्टान विस्फोटका लागि प्वाल पार्नेबाहेकको विकल्प नदेखिएपछि एक्साभेटरको बकेटमा चढेर दैनिक दर्जनौँ मजदुर व्यस्त भएका हुन् ।
उक्त क्षेत्रमा गत चैत २५ गतेबाट सडक निर्माण गर्दै आएका मजदुर सुत्त नेपालीले अग्लो र कडा चट्टानलाई विस्फोट गर्न प्वाल खोप्ने अन्य उपाय नभएपछि एक्साभेटर बकेटमा दुई जना मजदुर चढेर काम गरिरहेको बताउनुभयो । उहाँले एक जनाले प्वाल बनाउने, ड्रिल मेसिन समात्ने र अर्को एक जनाले ड्रिल मेसिन समातेको मजदुरलाई समात्ने गरेको जनाउनुभयो । जसले गर्दा ड्रिल मेसिन समातेर प्वाल बनाउने मजदुर लड्नबाट जोगाउन सजिलो हुने गरेको छ । यसरी बकेटमा बसेर दैनिक ५० भन्दा बढी प्वाल बनाउने गरिएको छ ।
५० मिटर लामो चट्टानमा १५ मिटरमाथि बकेटमा चढेर प्वाल पारिएको छ । उहाँले बिहान प्वाल पार्ने र दिउँसो विस्फोट गरिरहेको जानकारी दिनुभयो ।
हाल बोक्चे गौडा याङ्चुकुना क्षेत्रको सडक निर्माणको काम हेर्दै आउनुभएका नेपाली सेना विकास निर्माण दलका गुल्मपति अमृत पराजुलीले एक्साभेटर बकेट भएका कारण अग्ला चट्टानमा होल खोप्न सहज भएको बताउनुभयो । एक्साभेटर जान नसक्ने भएको भए मजदुरलाई डोरीले बाँधेर ड्रिल मेसिनले होल खोप्नुपर्ने बाध्यता रहन्थ्यो । यसले गर्दा समय पनि बढी लाग्ने र जोखिम पनि बढी रहन्थ्यो ।
एक्साभेटरको बकेटले गर्दा काम पनि छिटो र कामदार जोखिमबाट पनि सुरक्षित रहने गरेको उहाँले बताउनुभयो । यसरी एक्साभेटरको बकेटमा चढेर भिगौडा र बोक्चे गौडाको भिरमा पनि चट्टान विस्फोट गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । सेनाले बोक्चे गौडा याङ्चुकुनाको असजिलो, ग्रेड नमिलेको र कडा चट्टानी आठ सय मिटर सडकको स्तरोन्नति गर्ने काम सुरु गरिरहेको छ । काम आगामी असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने जिम्मेवारी सेनालाई रहेको छ ।