• २३ वैशाख २०८२, मङ्गलबार

जोखिमयुक्त पुल तर्नुपर्ने बाध्यता

blog

सर्केगाड गाउँपालिका–२ को खडिखेतमा बनाइएको जोखिमपूर्ण काठे पुल ।

रलिङ समाचारदाता 

हुम्ला (रलिङ), वैशाख २३ गते । सर्केगाड गाउँपालिका र प्रदेश सरकारको बेवास्ताका कारण हुम्लाको सर्केगाड गाउँपालिका–२, रिपगाउँका स्थानीयले जोखिम मोलेर खडिखेतको कर्णाली नदीको काठेपुल वारपार गर्नुपर्ने बाध्यता छ । काठको कच्ची झोलुङ्गे पुलमा जोखिम मोलेर वारपार गर्दै आउनु परेको स्थानीयले गुनासो गरेका हुन् । 

रिपगाउँका स्थानीय पालिका केन्द्र सर्केगाड, सदरमुकाम सिमकोट र जिल्लाबाहिर जानुपर्दा पनि सोही काठेपुल तरेर जानुपर्ने बाध्यता रहेको स्थानीय दिलीप कार्कीले गुनासो गर्नुभयो । वारपार मात्रै नभएर विकास निर्माणका सामग्री सिमेन्ट, छड, ग्यास सिलिन्डर, दैनिक उपभोग्य वस्तुलगायतका सामग्री ओसारपसार गराउँदा पनि जीर्ण अवस्थामा रहेको काठको पुलबाट जोखिम मोलेर ल्याउन पर्ने कार्कीले बताउनुभयो ।  

स्थानीय कार्कीका अनुसार धेरै गरुङ्गो सामानसमेत उक्त पुलबाट ल्याउन नसकिने भएको छ । खडिखेतमा रहेको काठको पुल जीर्ण हुँदा दुई/तीन जना व्यक्तिलाई एकै पटक तर्न सक्ने अवस्था पनि छैन । एक/एक जना गर्दै उक्त पुल वारपार गर्नुपर्ने अवस्था छ । पालो कुर्दै पुल वारपार गर्ने गरेको पाइन्छ । पुल तर्न बालबालिका, वृद्धवृद्धा, बिरामी बढी मर्कामा परेको स्थानीय बताउँछन् । आधारभूत भौतिक पूर्वाधार निर्माणमा गाउँपालिकासहित वडा नं. २ का जनप्रतिनिधिले ध्यान दिएर काम गर्न आवश्यक देखिएको अर्का स्थानीय श्री फडेराले बताउनुभयो । कम्तीमा गाउँपालिकाको केन्द्रसम्म सबैको पहुँच पुग्ने गरी संरचना निर्माण आवश्यक रहेको उहाँले जनाउनुभयो । रिपगाउँका स्थानीयले काठले निर्माण गरेको उक्त पुलको एकापट्टीको भागसमेत झुन्डिएको अवस्थामा रहेको छ । बर्खायाममा पानीको बहाब बढ्दै जाँदा पुलसमेत बगाउने गरेको छ ।

हिउँदयाममा यहाँका स्थानीयले पानी कम हुँदा पुनः निर्माण गरी वारपार गर्दै आउने गरेका छन् । बर्खायाममा काठको पुल बगाएपछि तुइन तरेर वारपार गर्नु परेको फडेराले बताउनुभयो । खडिखेतमा झोलुङ्गे पुलको आवश्यक रहेको उहाँले बताउनुभयो । खडिखेतमा प्रदेश सरकारको आर्थिक सहयोगमा बेलिब्रिज निर्माण गर्ने भन्दै गत मङ्सिरमा ओभरसियरलाई पठाएर डिपिआर गरेको भए पनि कार्यान्वयनमा नआएको सर्केगाड गाउँपालिका–२ का वडाध्यक्ष सिद्ध कार्कीले जानकारी दिनुभयो ।