• २३ वैशाख २०८२, मङ्गलबार

ध्रुवदेव कन्स्ट्रक्सनविरुद्ध एक अर्ब बिस करोडको राजस्व छली मुद्दा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २३ गते । राजस्व अनुसन्धान विभागले ध्रुवदेव कन्स्ट्रक्सनका सञ्चालकविरुद्ध एक अर्ब २० करोड रुपियाँ असुलउपर गराउने गरी उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावटसम्बन्धी कसुरमा ध्रुवदेव कन्स्ट्रक्सन प्रालि (स्थायी लेखा नम्बर ६०९७५४५११) का सञ्चालक धु्रवदेवबाट एक अर्ब २० करोड ९२ लाख ३० हजार पाँच सय रुपियाँ असुल गर्न तथा कैद सजायको पनि माग गरिएको छ । 

विभागले जारी गरेको विज्ञप्ति अनुसार प्रतिवादी देवलाई मूल्य अभिवृद्धि करतर्फ ४५ करोड ८० लाख ८३ हजार ४३४ रुपियाँ र आयकरतर्फ १४ करोड ६५ लाख ३१ हजार ८२४ रुपियाँ गरी जम्मा ६० करोड ४६ लाख १५ हजार २५८ रुपियाँ बिगो कायम गरिएको छ ।

त्यस्तै बिगो असुल तथा बिगोको शतप्रतिशत जरिबाना रुकम ६० करोड ४६ लाख १५ हजार २५८ रुपियाँ गरी जम्मा एक अर्ब २० करोड ९२ लाख ३० हजार ५१६ रुपियाँ असुलउपर र कैद सजायको मागदाबी लिई सोमबार उच्च अदालत पाटनमा अभियोगपत्र दायर गरिएको विभागले जनाएको छ ।

काठमाडौँ महानगरपालिका–३१, नयाँ बानेश्वरस्थित ठेक्कापट्टा, कन्सल्टेन्सी सेवा तथा कन्स्ट्रक्सन सामान खरिदबिक्री कारोबार गर्ने ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुवदेवले वस्तु तथा सेवाको हस्तान्तरण नगरी बिलबीजक मात्र जारी गरेको, खरिद कारोबारको भुक्तानी बैड्कमार्फत नगरेको, बीजकहरू सिलसिलेवार जारी नगरेको विभागले जनाएको छ ।

यस्तै मूल्य अभिवृद्धि कर विवरण र आय विवरण दाखिला नगरेको, मूल्य अभिवृद्धि कर तथा आयकरतर्फ झुटा विवरण पेस गरेको, मालसामान खरिदको स्रोत पुष्टि नभएको तथा नेपाल सरकारलाई नियमानुसार तिर्नु, बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर तथा आयकरलगायतका राजस्व नतिरी राजस्व चुहावट गरेको पुष्टि भएको पनि विभागले जनाएको छ । अनुसन्धानमा अनुसन्धान अधिकृत नवराज अधिकारी र राजनकुमार बिसी संलग्न रहनुभएको थियो ।

विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले राजस्व चुहावट नियन्त्रण गर्न र फर्जी बिल गर्नेहरूमाथि सूक्ष्म रूपमा अनुसन्धान अघि बढाइएको बताउनुभयो ।