गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लड लाइट जडान कार्य तोकिएको समयमा सम्पन्न हुन नसकेकोमा गम्भीर चासो व्यक्त गर्नुभएको छ । साथै उहाँले सो विषयमा सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीसँग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार भएको छलफलमा सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उक्त निर्माण कार्यको कार्यान्वयन निकाय सङ्घीय सचिवालय तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कण्ठससिहत संलग्न निर्माण व्यवसायीसँग प्रधानमन्त्री ओलीले काम सुरु भए पनि तोकिएको समयमा काम सम्पन्न हुन नसक्ने स्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले कार्यभार समालेपछि गत असार ३१ गते पहिलो निर्णयका रूपमा तीन दिनभित्र उक्त क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लड लाइट जडान गर्ने घोषणा गर्नुभएको थियो । उक्त तीन सय दिन वैशाख २४ गते सकिँदै छ ।
ती दुई कामका लागि फरक फरक ठेकेदार कम्पनीसँग क्रमशः गत पुस १९ र २२ गते निर्माण सम्झौता भएको थियो । प्रधानमन्त्री ओलीले कुन लापर्बाही, कमजोरी वा के कारणले समयमा काम हुन सकेन र अब कति दिनमा गुणस्तरीय रूपमा काम पूरा हुन्छ भन्ने यकिन गर्न र आगामी दुई महिनाभित्र सम्पन्न गर्न निर्देशन दिनुभयो ।
मन्त्रालयका सचिव, कार्यालयका प्रमुख र निर्माण व्यवसायीले सम्बन्धित निकायबिचको समन्वयमा समय लागेकाले समयमा बोलपत्र आह्वान हुन नसकेको, प्राविधिक कारणले डिजाइनमा सामान्य परिवर्तन भएको, केही दिन वर्षाले काम अवरोध भएको, एलसी खोल्ने प्रक्रियामा ढिलाइ भएको जस्ता कारणले सम्झौतामा तोकिएको अवधिमा काम हुन नसकेको स्विकार्दै अबको एक महिनामा काम सक्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।