प्रवीणकुमार शर्मा
चन्द्रपुर (रौतहट), वैशाख २२ गते । रौतहट सदरमुकाम गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल पुनःस्थापना केन्द्रमा एक युवकमाथि अमानवीय तरिकाले कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा भइरल भएपछि जिल्ला प्रहरी कार्यालय रौतहतले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
कुटपिटको भिडियो सार्वजनिक भएपछि सुधार केन्द्रका सञ्चालक सुरज गुप्तालाई सोधपुछका लागि गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता दीपककुमार रायले जानकारी दिनुभयो ।
यद्यपी उक्त भिडियो ८ महिना पुरानो भएका अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक रायले बताउनुभयो ।
कुटाइखाने व्यक्ति गौर नगरपालिका– २ घर भएका रितेशकुमार यादव हुनुहुन्छ । उहाँ २०८१ पुस ४ गते सुधार केन्द्रबाट डिस्चार्ज भइसक्नुभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी रायले दिनुभयो ।
यसैगरी, प्रारम्भिक अनुसन्धानमा निर्दयीतापूर्वक कुटपिट गर्ने सुधार केन्द्रका तत्कालीन कर्मचारी शिवु पाण्डे हुनुहुन्छ । उहाँले जागिर छोडिसकेको प्रहरीले जनाएको छ ।
त्यस्तै, भिडियो भाइरल भएपछि जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी किरण निधि तिवारीको नेतृत्वमा एक टोलीले सुधार केन्द्रको अनुगमन गरेको छ ।
हाल केन्द्रमा रहेका व्यक्तिहरूसँग सो भिडियोबारे जानकारी लिनुको साथै केन्द्रमा यातना दिने गरेको कुरा सत्य हो वा होइन समेत बुझेको सहायक प्रमुख जिल्ला अधिकारी तिवारीले जानकारी दिनुभयो ।
हाल केन्द्रमा आठ जना रहेका छन् । तीन महिनाभन्दा बढी समयदेखि कोही केन्द्रमा नरहेकाले भिडियोबारे केही थाहा नभएको बताएको सहायक प्रमुख जिल्ला अधिकारी तिवारीको भनाइ छ ।
गौर वडा नं. ४ मा सञ्चालन रहेको केन्द्र जिल्ला प्रशासन कार्यालय पर्सामा दर्ता भई २०७३ सालमा रौतहट जिल्ला प्रशासन कार्यालयबाट शाखा स्थापनाको अनुमति लिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
लागु औषधको लतमा फसेकाहरूलाई सामान्य जीवनमा फर्काउन सहयोग पुग्ने उद्देश्यले सुधार केन्द्रको सञ्चालन भएता पनि पछिल्लो समयमा सुधार केन्द्रबाट विश्वास कम हुँदै गएको देखिन्छ ।