काठमाडौँ, वैशाख २२ गते । हिमालयजन जाभा बास्केटबल लिग (एचजेबीएल) मा टाइम्स बास्केटबल क्लबले गोल्डेनगेट बास्केटबल क्लबमाथि रोमाञ्चक जित हात पारेको छ ।
कीर्तिपुर कभर्डहलमा भएको खेलमा अन्तिम क्वाटरमा उत्कृष्ट प्रदर्शन गर्दै टाइम्सले गोल्डेनगेटलाई ७६–७१ ले हरायो । तेस्रो क्वाटरसम्म गोल्डेनगेट ५१–५० ले अघि थियो । तर चौथो क्वाटरमा टाइम्सले उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्यो ।
पहिलो क्वाटरमा टाइम्सले २१–११ को अग्रता बनाएको थियो । तर दोस्रो क्वाटर २४–१३ ले आफ्नो पक्षमा पारेपछि हाफ टाइममा गोल्डेन गेटले ३५–३४ को अग्रता बनायो ।
तेस्रो क्वाटरमा दुवैले १६–१६ स्कोर गर्दा गोल्डेनगेट अझै अघि थियो । तर चौथो क्वाटर २६–२० ले आफ्नो पक्षमा पार्दै टाइम्सले लिगमा विजयी सुरुवात गरेको हो । टाइम्सको जितमा महत्वपूर्ण योगदान गर्नुभएका सदिश प्रधान एमभिपी घोषित हुनुभयो ।