• २२ वैशाख २०८२, सोमबार

पाँच करोड लगानीमा निर्मित अस्पताल भवन अलपत्र

blog

अन्नपूर्ण गाउँपालिकाको दोवामा निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको अस्पताल भवन । तस्बिर: अमृत

अमृतप्रसाद पौडेल

म्याग्दी, वैशाख २२ गते । नेपाल सरकारको एक पालिका एक अस्पताल नीति अनुसार निर्माण भएको अन्नपूर्ण गाउँपालिका स्तरीय अस्पताल भवन निर्माण भएको २ वर्ष बित्दा पनि सेवा भने अन्योल देखिएको छ । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले अस्पतालको स्थलगत अनुगमन गरेर पनि सञ्चालन गर्ने सन्दर्भमा अन्यौलता नै जनाउनु भएको छ ।

मन्त्री पाठकले सडकको अवस्था कमजोर र बस्ती भन्दा अपायक ठाउँ जस्तो भुगेलमा भएकोले अस्पताल सञ्चालन नै अन्योलै देखिएको बताउनु भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पनुले जानकारी दिनुभयो । हामीले मन्त्रीज्यूलाई अस्पताल भवनको निरीक्षणमा लगेका थियौँ, तर भौगोलिक अवस्था तथा सडकको स्तरले गर्दा पनि कहिलेबाट अस्पताल सञ्चालन गर्ने भन्ने यकिन भन्न सक्ने अवस्था नदेखिएको उहाँले भन्नुभयो–अध्यक्ष पुनले सुनाउनुभयो ।

हरेक स्थानीय तहमा कम्तीमा पाँच शय्याको अस्पताल निर्माण गर्ने भनेर निर्माण सुरु भएर निर्माण सम्पन्न भएको भए पनि सेवा सुरु हुन भने सकेको छैन । अन्नपूर्ण गाउँपालिका स्तरीय अस्पताल गाउँपालिकाको वडा नम्बर –१, दोबामा निर्माण भएको थियो । २०९७ फागुन मसान्तमा निर्माण भएको भवन दुई वर्ष बितिसक्दा पनि सञ्चालन कहिले गर्ने भन्ने अझै पनि अन्योल रहेको छ । केन्द्र सरकारले सबै स्थानीय तहमा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने उद्देश्य अनुसार अस्पताल भवन निर्माण गरिएको थियो ।

नेपाल सरकारले स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवा पुर्याउनका लागि भनेर अस्पताल निर्माण गर्ने योजना अगाडि सारेको थियो । अस्पताल भवन निर्माण भइसके पछि यहाँबाट हामीले गर्नु पर्ने सञ्चालनका लागि आवश्यक प्रक्रिया पुरा गरेर केन्द्र सम्म पुगेको भए पनि कहिले देखि सञ्चालन गर्ने भन्ने टुङ्गो नभएको गाउँपालिकाका अध्यक्ष पुनले जानकारी दिनुभयो । २०८० को सुरुआतमा केन्द्र सरकारले एकै पटक शिलान्यास गरेर सुरु गरेको स्थानीय तहको अस्पतालका लागि पहिलो चरणमा एक सय अस्पताल सञ्चालन गर्ने भन्ने जानकारी पाएको हो । तर त्यसमा हाम्रो अस्पताल प¥यो परेन यकिन भएन । स्थानीय तहले गर्नु पर्ने काम गरेर केन्द्रमा ताकेता गरिएको भए पनि आवश्यक प्रक्रिया, जनशक्ति लगायतका काम केन्द्रबाट हुनु पर्ने त्यो नहुँदा अस्पताल सञ्चालनको कुनै टुङ्गो छैन ।

तोकिएको मापदण्ड अनुसार अपाङ्गमैत्री पाँच शय्या क्षमताको अस्पताल भवन भूकम्प प्रतिरोधी तवरको निर्माण भएको थियो । गाउँपालिकाका अनुसार केन्द्र सरकारले तोकेको मापदण्ड अनुसारका सबै चिज पुर्याएर भवन निर्माण गरिएको हो । उक्त भवनमा आकस्मिक कक्ष, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, भण्डार कोठा, उपचारका लागि छुट्टाछुट्टै कक्ष र स्वास्थ्यकर्मी निवाससहितका कोठा रहेको छ ।

भवन निर्माणका लागि २०७८ वैशाख १७ गते रविना–अमित जेभीसँग पाँच करोड १२ लाख ६० हजार रुपियाँमा भवन निर्माण सम्झौता भएको थियो । निर्माण कम्पनीले भवन निर्माणलाई अगाडी बढाएको र २०७९ फागुन मसान्तभित्रै निर्माण सम्पन्न गरेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष पुनको भनाई छ । अस्पतालका लागि आवश्यक पर्ने उपकरण, फर्निचर र अस्पतालको कम्पाउन्डिङ गर्न ठुलो खर्च व्यवस्थापन गर्नुपर्ने छ, साथै अस्पताल सञ्चालनमा ल्याउन गाउँपालिकाले आवश्यक पहल गरिरहेको उहाँले बताउनुभयो । 

अस्पताल निर्माण गर्नका लागि दोबाका बासिन्दाले एक करोड रुपियाँभन्दा बढी पर्ने १२ रोपनी सात आना दुई दाम क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराएका थिए । स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराउनुका साथै प्रशासनिक कार्य र निर्माण कार्य सकिएको भए पनि अस्पताल सञ्चालनमा आउने कुनै टुङ्गो नलाग्दा स्थानीय चिन्तित भएका छन् ।