गोरखापत्र समाचारदाता
ललितपुर, वैशाख २२ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठकले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र आगामी जेठ १५ गते ल्याउने बजेटका बारेमा केन्द्रित भएर छलफल गरेको छ । पार्टी मुख्यालय च्यासलमा आइतबार बसेको बैठकमा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम विगतका वर्षको तुलनामा धेरै व्यवस्थित चुस्त र दिशानिर्देशको हिसाबले उत्कृष्ट रहेको निष्कर्ष बैठकले निकालेको हो ।
बैठकपछि पत्रकार सम्मेलनमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले नीति तथा कार्यक्रम ल्याइसकेको र त्यसलाई समर्थन गर्दै बैठकमा सहभागी सचिवालय सदस्यहरूले नीति कार्यक्रमले भने जस्तै बजेट पनि ठोस र परिणाममुखी हुनुपर्नेमा जोड दिनुभएको जानकारी दिनुभयो ।
विगतमा ल्याइएका बजेटमा योजनाहरूको छनोट, स्रोतको विन्यास र योजनाको प्राथमिकीकरणमा भद्रगोल देखिएको कुरा नदोहोर्याउन सदस्यहरूले सरकारलाई सुझाव दिनुभएको उहाँले जानकारी दिनुभयो । सङ्घ सरकारसँग १८ हजार योजनाहरू, खर्बौं रुपियाँको दायित्व बाँकी हुने गरी स्रोत सुनिश्चितताका नाममा ठेक्कापट्टा लगाइएकोमा यस्तो अस्तव्यस्त अवस्था चिर्दै बजेट आओस् भनेर सचिवालय सदस्यले सुझाव दिनुभएको ज्ञवालीले स्पष्ट पार्नुभयो ।
बैठकमा सङ्घ सरकारले राष्ट्रिय स्तरका रणनीतिक कुरामा केन्द्रीकृत गर्दै बाँकी योजनाहरू प्रदेश र स्थानीय तहलाई जिम्मेवारी दिन सुझाव दिएको उहाँले जानकारी दिनुभयो । बजेटले उत्पादक र उत्पादकत्वमा केन्द्रित हुनुपर्नेमा जोड दिएको छ । त्यसका लागि पुष्पलाल मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राष्ट्रिय राजमार्ग, हुलाकी राजमार्गको समानान्तर कृषि उत्पादनका पकेटहरू र त्यसका सघन निर्माण गर्ने र किसानलाई जमिन, प्रविधि, बजार र बचतको प्रणालीको विकास गर्न आवश्यक रहेको सुझाव दिएको छ ।
आउने बजेट कृषकको आम्दानी बढाउने र आत्मनिर्भर बनाउन केन्द्रित हुनुपर्नेमा सचिवालय सदस्यहरूको सुझाव छ । नयाँ पुस्तालाई उद्यममा आकर्षण बढाउन र युवाको चाहना अनुरूप सूचना प्रविधिलाई अथाह सम्भावनाका रूपमा अघि बढाउन आवश्यक रहेको सुझाव आएको ज्ञवालीले बताउनुभयो । सचिवालय सदस्यहरूले बदलिँदो भू–राजनीतिले पार्न सक्ने असरबारे समेत सरकारले ध्यान दिन सुझाव दिएका छन् । ज्ञवालीले भन्नुभयो, “कतिपय अन्तर्राष्ट्रिय सहयोग कटौती भएको र ठेक्का लागेको आयोजनाबाट दाताहरूले हात झिक्ने काम गरिरहनुभएको छ । त्यसले ठुलो स्रोतको अभाव हुने र त्यसमा सरकारको काँधमा दायित्व थपिने जस्तो देखिने भएकाले सो कुरालाई पनि ध्यानमा राखेर योजनाको प्राथमिकीरण गर्न सुझाव दिएका छन् ।”
सुशासन, भ्रष्टाचार नियन्त्रण र स्रोतको अधिकतम प्रयोगमा ध्यान राखेर बजेट आओस् भनेर सुझाव आएको उहाँले बताउनुभयो । सुझाव सङ्कलन निरन्तर हुने उहाँले जानकारी दिनुभयो ।
मुलुक मूलतः राजनीतिक स्थायित्व र नीतिगत स्थिरतामा अघि बढेको बैठकले निष्कर्ष निकालेको छ । “यद्यपि यो स्थिरतालाई खल्बल्याउन र यसलाई कमजोर पार्नका निम्ति विभिन्न पक्षहरू व्रिmयाशील पनि भइरहेका छन् तर उनीहरूको प्रयास सफल नहुने, त्यो प्रयास कमजोर बन्दै गएको र मुलुक राजनीतिक स्थायित्वको दिशामा अघि बढेको बैठकले निष्कर्ष निकालेको छ,” उपमहासचिव ज्ञवालीले भन्नुभयो ।
उहाँले आगामी निर्वाचनमा पार्टीलाई बहुमत प्राप्त पहिलो शक्ति निर्माण गर्न पार्टीको सम्पूर्ण ऊर्जा र सामथ्र्यलाई एकताबद्ध गर्दै अघि बढ्ने निर्णय गरेको उल्लेख गर्नुभयो । पार्टीलाई आगामी निर्वाचनमा बहुमत प्राप्त बलियो शक्ति बनाउन एमालेलाई एकताबद्ध बनाउने निर्णय गरेको जानकारी ज्ञवालीले दिनुभयो । शिक्षक र चिकित्सकसँगको वार्ता गरेर समस्या समाधानको दिशामा अघि बढेकोमा बैठकले सरकारलाई धन्यवाद व्यक्त गरेको छ । दलहरूभित्रको आन्तरिक समस्यालाई राष्ट्रिय राजनीतिमा ल्याएर बिसाउनु नहुनेमा उहाँले जोड दिनुभयो । “दलहरूभित्रका समस्या आफ्ना ठाउँमा होलान् । हामीभित्रका, हाम्रो पार्टीभित्रका केही समस्या होलान्, त्यो समाधान गर्ने दायित्व हाम्रो हो । अरू पार्टीसँग त्यो समस्या छ भने त्यो उहाँहरूले समाधान गर्ने हो तर पार्टीभित्रका समस्या यदि राष्ट्रिय राजनीतिमा गएर जोडिन थाले अथवा त्यसलाई त्यहाँ गएर समाधान खोज्न थालियो भने, त्यहाँभित्रको समस्या त्यहाँ लगेर पोख्न थालियो भने त्यसले राम्रो गर्दैन भन्ने हाम्रो निष्कर्ष हो,” उहाँले भन्नुभयो ।