• २१ वैशाख २०८२, आइतबार

लमजुङ क्याम्पसमा तालाबन्दी

blog

लमजुङको सुन्दरबजारस्थित लमजुङ कृषि क्याम्पस । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, वैशाख २१ गते । लमजुङको सुन्दरबजारस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसमा एक सातादेखि विद्यार्थीले लगाएको तालाबन्दी खुल्न सकेको छैन । 

विभिन्न माग राख्दै विद्यार्थीले वैैशाख १५ गतेदेखि गरेको तालाबन्दी गरेका थिए । विभिन्न राजनीतिक दलसम्बद्ध विद्यार्थी सङ्गठनहरूले क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन् । लमजुङ क्याम्पसस्थित नेपाल विद्यार्थी सङ्घका सभापती सौरभ उप्रेती, अनेरास्ववियुका अध्यक्ष निश्चल घिमिरे, अखिल क्रान्तिकारीका अध्यक्ष विवेक भट्टले संयुक्त विज्ञप्ती जारी गरी क्याम्पसमा तालाबन्दी गरेका हुन् । 

कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको डिन कार्यालयले विभिन्न शुल्क सम्बन्धमा गरेको निर्णय सच्चाउन पटक पटक गरिएको आग्रहलाई बेवास्था गरिएपछि विरोधमा तालाबन्दी गर्नुुपरेको विद्यार्थी सङ्घ सङ्गठनले जनाएका छन् । 

डिन कार्यालयले गत माघमा अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा विद्यार्थी मौका परीक्षामा अनुत्तीर्ण भए सेमेष्टरको पूर्ण शुल्क अनिवार्य गरेको थियो । सो निर्णय सच्चाउन स्वतन्त्र विद्यार्थी युनियन र विद्यार्थी सङ्गठनहरूले आवाज उठाइरहे पनि सुनुवाई नभएको विद्यार्थीको गुनासो छ । 

कृषि शिक्षा क्षेत्रमा घट्दो विद्यार्थी सङ्ख्यालाई बढाउन तर्फ नलाग्ने, तर अध्ययन गरिरहेका विद्यार्थीको मनोबल घटाउनेगरी डिन कार्यालयले काम गरेको नेविसङ्घ लमजुङ क्याम्पसका सभापति सौरभ उप्रेतीले बताउनुभयो । विश्वविद्यालय विद्यार्थीको भविष्य निर्माण गर्ने क्षेत्र बनाउनुपर्नेमा विद्यार्थीको भावना नबुझी एकलौटी हिसाबले आर्थिक भार थोपर्ने निर्णय गरिएको अनेरास्ववियुका अध्यक्ष निश्चल घिमिरेले बताउनुभयो । उहाँले मागबारे सम्बोधन नभए अन्य सशक्त आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिनुभयो ।