कविराज घिमिरे
हिले, वैशाख, २१ गते । धनकुटा जिल्ला अस्पतालमा हेमोडायलाइसिस सेवा औपचारिक रूपमा सुरु गरिएको छ । वि.स. १९७० सालमा स्थापना गरिएको जिल्ला अस्पताल धनकुटामा अस्पताल स्थापना भएको एक सय ११ वर्षपछि हेमोडायलाइसिस सेवा सुरु भएको हो ।
आइतबार एक कार्यक्रममा कोसी प्रदेशका स्वास्थ्यमन्त्री भूपेन्द्र राईले सेवा उद्घाटन गर्नुभयो । हप्तामा १२ बिरामीलाई सेवा दिन सकिने र दुई सिफ्टमा सेवा सञ्चालन गर्दा २४ जनासम्म लाभान्वित हुने अस्पताल प्रशासनले जनाएको छ । १५ शय्याको अस्पतालमा सुरु गरिएको हेमोडायलाइसिस सेवाले कोसी पहाडका धनकुटा, तेह्रथुम, भोजपुर र सङ्खुवासभा जिल्लाका बिरामीलाई राहत मिल्ने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष राईले जानकारी दिनुभयो ।
सेवाको उद्घाटन गर्दै स्वास्थ्य मन्त्री राईले सबै पक्षबिच समन्वय गरी सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने बताउनुभयो । उहाँले जिल्ला अस्पताललाई ५० वा १०० शय्यामा विस्तार गर्ने विषयमा छलफल गरी निर्णय लिने र सुलभ सेवा दिन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
चाँडै सघन उपचार कक्ष (आईसीयू) सेवा पनि सुरु गरिने स्वास्थ्यमन्त्री राईले घोषणा गर्नुभयो । कार्यक्रममा धनकुटा नगरपालिका मेयर चिन्तन तामाङले यो खर्चिलो सेवा भएकाले धेरै बिरामीलाई सहज हुने बताउनुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष निरन तामाङले जनशक्ति अभावका कारण सेवा सञ्चालनमा चुनौती रहेको भन्दै मन्त्रालयले सेवा चलाउन सकिने विश्वास दिलाउनुपर्ने बताउनुभयो ।