• २१ वैशाख २०८२, आइतबार

पाटन दरबार क्षेत्रमा पर्यटकलाई कलात्मक अत्याधुनिक शौचालय

blog

पर्यटकलाई लक्षित गरी पाटन दरबार क्षेत्रमा निर्माण गरिएको अत्याधुनिक सार्वजनिक शौचालय । तस्बिर : ललितपुर महानगर

ललितपुर, वैशाख २१ गते । ललितपुर महानगरले पर्यटकलाई लक्षित गरेर पाटन दरबार क्षेत्रमा निर्माण गरेको अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा आएको छ । उक्त शौचालय आइतबारदेखि सञ्चालनमा आएको हो ।

शौचालय सुरुवातको जानकारी दिन आयोजित कार्यक्रममा नगर प्रमुख चिरीबाबु महर्जनले विधि र प्रक्रिया पूरा गर्दा गर्दै शौचालय निर्माणका लागि केही समय लागेपनि शौचालय निर्माणको काम सम्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हाम्रो सहरको मौलिकता झल्कने गरी शौचालय बनाएका छौं, यो शौचालयले अब आन्तरिक र बाह्य पर्यटकका लागिसहज हुन्छ ।’’

पाटन दरबार क्षेत्र घुम्न आउने पर्यटकलाई शौचालय खोज्न भौतारिनुनपर्ने उहाँको भनाइ छ । महानगर प्रमुख महर्जनले यो शौचालय निर्माण महानगरको मात्रै नभई सम्पूर्ण पालिकाका लागि ‘सो केस प्रोजेक्ट’ भएको बताउनुभयो । यस अघि पाटन दरबार क्षेत्रमा सार्वजनिक शौचालय भए पनि यहाँको आवश्यकतालाई पूर्ति गर्ने किसिमको थिएन ।

आधुनिक प्रविधिको अपाङ्गता मैत्री यो शौचालयमा पुरुषका लागि ६ वटा युरेनलसहितको तीन वटा शौचालय, महिलाका लागि ६ वटा शौचालय, एक वटा अपाङ्गतामैत्री शौचालय, एक वटा स्तनपान कक्ष राखिएको छ । अत्याधुनिक स्यानिटी सामग्री समेत रहेको छ । संस्कृति पर्यटन मन्त्रालयका सचिव बिनोद प्रकाश सिंह आन्तरिक र बाह्य पर्यटकलाई शौचालय निर्माणले सहज बनाएको बताउँदै पुरातात्विक मौलिकतालाई प्राथमिकतामा राख्नु महत्त्वपूर्ण भएको बताउनुभयो ।

ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ ऐतिहासिक र पुरातात्विक महत्त्वलाई ध्यानमा राखेर शौचालयको भवन निर्माण गरेको बताउनुभयो । पर्यटकलाई सुविधा दिँदै पुरातात्विक महत्व पनि कायम राख्ने गरी महानगरले  अत्याधुनिक पर्यटकीय शौचालय निर्माण गरेको उहाँको भनाइ छ । महानगरको यो परियोजनासम्पदा र आधुनिकताको समिश्रण युक्त परियोजना भएको जानकारी दिनुभयो ।

महानगरका प्रवक्ता राजु महर्जन पूर्वाधार निर्माणका अन्य अवयवमध्ये सार्वजनिक शौचालय पनि एक हो भएको बताउनुभयो । ललितपुर महानगरको २९ वटा वडामध्ये धेरै वटा वडामा सार्वजनिक शौचालय निर्माण भइरहेको बताउनुभयो ।

ध्यान दिई शौचालयको बाहिरी वनावट काष्ठ कला र चुनासुर्की सहितको मा अप इँटाको प्रयोग भएको छ । शौचालयको छाना झिंगटी टायलसहित दुई पाखे गरी निर्माण गरिएको छ । महानगरका अनुसार कुल लागत एक करोड २६ लाखमा शौचालय निर्माण भएको हो ।