• २१ वैशाख २०८२, आइतबार

‘नागरिकताकै कारण नागरिक राज्यविहीन नहोस् भन्नेमा सरकार गम्भीर छ’

blog

राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा सुगौली सन्धी र नेपालमा नागरिकतासम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, वैशाख २१ गते । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले कोही नेपाली नागरिक नागरिकताका कारण राज्यविहीन हुनेस्थिति नहोस् भन्नेमा सरकार गम्भीर रहेको बताउनुभएको छ ।

सुगौली सन्धी र नेपालमा नागरिकतासम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आमाका नामबाट छोराछोरीलाई नागरिकता दिने विधेयक आएको र सरकारको चाहना पनि नेपाली नागरिक नागरिकताकै कारण राज्य बिहीन हुने स्थिति नआओस् भन्नेमा गम्भीर रहेको बताउनुभयो ।

उहाँले यो विधेयकलाई समितिमा अझ विस्तृत र गहन रुपलेटलफल गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले विधेयक छलफलका क्रममा सम्बन्धित पक्षलाई पनि आमन्त्रित गरेर छलफल गरिने विश्वास व्यक्त गर्नुभयो । उहाँले विधेयकमा केही कमी, कमजोरी भए सच्याएर अघि बढ्ने पनि जानकारी दिनुभयो । 

सभापति खतिवडाले भन्नुभयो, ‘‘कानुन निर्माण गर्दा कहीँ लुप होल्सहरु छन् भने ल्याप्सहरु छन् भने त्यसलाई पूरा गरौँ भन्ने हाम्रो लक्ष्य पनि छ । त्यसैले अहिले जुन विधेयक आमाका नामबाट छोराछोरीलाई नागरिकता दिने भन्ने आएको छ । सरकारको चाहना पनि कोही नेपाली नागरिक नागरिकता कार्डले राज्यविहीन हुने स्थिति नहोस् भन्ने चाहना छ । त्यसलाई हामी अझ वृहत छलफल गरौँ ।’’  

सभापति खतिवडाले राज्यले अप्ठ्यारो परेका बेलामा सबैको कुरा सुनेर कानुन निर्माण गर्ने बताउनुभयो ।