राजन रावत
हुम्ला, वैशाख २१ गते । हिमाली जिल्ला हुम्लामा २९ प्रतिशत खेती योग्य जमिनमा सिँचाइ सुविधा पुगेको छ । कतै भिरालो जमिन त कतै सिँचाइका लागि पानीको श्रोत नभएको कारण थोरै जग्गामा मात्र सिँचाइ सुविधा पुगेको हो।
हाल खेती भइरहेको जमिनमध्ये २९ प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा पुगेको छ । जिल्लाको कुल खेती योग्य जमिनमध्ये २९ दशमलव बाह्र प्रतिशत जमिन आंशिक र बाह्रै महिना सिँचाइ सुविधा हुने गरेका कृषि विकास कार्यालयका प्रमुख चुणमणी पन्तले बताउनुभयो ।
खेती योग्य जमिन तर आकाशे पानीको भरमा खेती गरिने जग्गाको क्षेत्रफल सत्तरी दशमलव ८६ हेक्टर रहेको छ । यसमा आशिंक सिँचाइ हुने खेतीपाती भइरहेको जग्गामा ६८२ हेक्टर रहेको छ भने ४२२ हेक्टर जग्गामा बाह्रै महिना सिँचाइको सुविधा हुने गरेको उहाँले बताउनुभयो । दुई किसिमको सिँचाइ गरेर जिल्लाभरि एक हजार १०४ हेक्टर जग्गामा सिँचाइ सुविधा हुने गरेको छ ।
हुम्ला जिल्लामा कुल जमिनको भुभागमा खेतीयोग्य जमिनको क्षेत्रफल आठ हजार ३५८ हेक्टर रहेको छ । त्यसमा खेती गरिएको जग्गा चार हजार ६६८ हेक्टर रहेको छ जिल्लाभर कम सिँचाइ हुनुमा भिरालो जग्गा र सिँचाइका लागि आवश्यक पानीको श्रोत नभएको कारण पनि समस्या भएको हो । यस आर्थिक वर्षका कार्यालयद्वारा ८८ वटा साना सिँचाइका कार्यक्रमहरु रहेको कारण सिञ्चित जग्गाको क्षेत्रफलमा केही वृद्धि हुनेछ ।
सिमकोट गाउँपालिका–३ का किसान च्यामा लामाले आकाशे पानीको भरमा खेती गर्नुपर्ने भएको कारण बालीको उत्पादन पनि आकाशे पानी कति पर्छ त्यसैमा भर पर्ने बताउनुभयो । उहाँँले आफ्नो गाउँमा थोरै जग्गामा मात्र सिँचाइ सुविधा भएको तर अधिकाँस जग्गा आकाशे पानी कै भरमा खेती गर्नु परि रहेको बताउनुभयो । आकाशे पानीका भरमा खेती गर्नु परेको कारण खडेरीको बेला बाली नै डढेर जाने चिन्ता बढी हुने गरेको र यो समस्या बारम्बार किसानहरुले भोग्ने गरेको उहाँले बताउनुभयो ।