• २१ वैशाख २०८२, आइतबार

सरावलमा थारू सङ्ग्रहालय निर्माण हुँदै

blog

सरावल गाउँपालिका–२ मनरीमा अवस्थित थारू सांस्कृतिक पार्कमा थारू सङ्ग्रहालयको शिलान्यास गरिँदै ।

कल्पना खरेल 

नवलपरासी पश्चिम, वैशाख २१ गते । नवलपरासी पश्चिमको सरावल गाउँपालिका वडा २ मनरीमा अवस्थित थारू सांस्कृतिक पार्कमा थारू सङ्ग्रहालयको निर्माण कार्य सुरु भएको छ । 

थारू समुदायको सांस्कृतिक पहिचानको संरक्षण, सम्वर्धन तथा प्रवर्धन गर्ने लक्ष्यसहित थारू सङ्ग्रहालयको निर्माण कार्य सुरु गरिएको हो । नेपाल सरकार पर्यटन तथा संस्कृति मन्त्रायबाट ४५ लाख रुपियाँको लागतमा निर्माण कार्य सुरु गरिएको थारू सङ्ग्रहालयमा थारू जीवनशैलीसँग सम्बन्धित पहिरन, घर निर्माण, कृषि उपकरण र परम्परागत साङ्गितिक उपकरणहरू प्रदर्शित गरिने छ । 

थारू समुदायको बाहुल्यता रहेको यस सरावल गाउँपालिकामा यस्तो प्रकृतिको थारू सङ्ग्रहालयले थारु समुदायको मौलिक संस्कृति, भाषा र पहिचानलाई जगेर्ना गर्न मद्दत पुग्ने विश्वास लिइएको छ । 

पछिल्लो पटक बढ्दो आधुनिकीकरणले थारू समुदायले आफ्नो धर्म संस्कृतिसँगै भाषाको पनि संरक्षण गर्न नसकिरहेको अवस्थामा थारू संग्रहायले आफ्नो समुदाय प्रतिको माया चासो बढ्ने भन्दै पुस्ता हस्तान्तरणमा पनि टेवा पुग्ने विश्वास लिइएको गाउँपालिका अध्यक्ष सुखाडिप्रसाद चौधरीले बताउनुभयो ।

सरावल गाउँपालिका विभिन्न कला, संस्कृतिले भरिपूर्ण रहेकाले यसको संरक्षण र प्रवर्धनका लागि गाउँपालिकाका लागि परेको भन्दै पालिकाभित्र रहेका सबै समुदायको कला संस्कृति सरंक्षण र प्रवर्धनका लागि विभिन्न कार्यक्रम भइरहेको अध्यक्ष चौधरीको भनाइ छ । 

यस योजनाले पर्यटकीय सम्भावना बोकेकाले रोजगारी सिर्जना हुने र थारू संस्कृतिको संरक्षणमा योगदान पुग्ने भन्दै त्यस क्षेत्रका स्थानीयवासी खुसी देखिएका छन् । 

यस सङ्ग्रहायको एक कार्यक्रमबिच उद्योग विभाग, नेपाल सरकारका महानिर्देशक राजेश्वर ज्ञवाली र सरावल गाउँपालिका अध्यक्ष सुखाडिप्रसाद चौधरीले एकैसाथ शिलान्यास तथा भूमिपूजन गर्नुभयो ।