हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), वैशाख २१ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५, धार्काजुङगाउँका कृषक ङातर गुरुङको मङ्गलबार राति गोठमा रहेका पाँच वटा च्याङ्ग्रा हिउँचितुवाले मार्यो । कृषक गुरुङसँगै सोही गाउँका अर्का कृषक च्याङ्ग्रापालक पेम्मा गुरुङका तीन च्याङ्ग्रा हिउँचितुवाको आक्रमणबाट मरेका छन् । दुई गोठमा प्रारम्भिक क्षति साढे दुई लाखको हाराहारीमा भएको अनुमान गरिएको छ । हिउँचितुवाको आक्रमणबाट माउ, खसी, पाठापाठी मरेको र केही घाइते अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले बताउनुभयो ।
हिउँचितुवाले गोठमा क्षति पुर्याएको सूचनाका आधारमा गाउँपालिकाका अध्यक्ष रिन्जिङ नाम्गेल गुरुङ, जिल्ला प्रहरी कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमबाट टोली घटनास्थलमा पुगेको थियो । मुस्ताङमा हिउँचितुवाबाट बर्सेनि धेरै पशुचौपायाको क्षति हुने गरेको छ । हिउँचितुवाको क्षतिको अवलोकन गर्न गएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका कार्यक्रम व्यवस्थापक एवं हिउँचितुवाविज्ञ डा. मधु क्षेत्रीले सामान्य गोठ भएकाले माथिल्लो क्षेत्रबाट प्रवेश गरेर क्षति पुर्याएको बताउनुभयो । डा. क्षेत्रीले भन्नुभयो, “सुधारिएको गोठ नहुँदा पशुचौपायामा क्षति भइरहेको छ । अब अनुदान दिएर भए पनि सबै कृषकले सुधारिएको गोठ नै प्रयोग गर्नु पर्छ ।” डा. क्षेत्रीका अनुसार पोथीबाट अलग भएका हिउँचितुवाका करिब दुई वर्षका भाले वासस्थान र आहाराको खोजीमा बस्तीमा प्रवेश गर्दा क्षति हुने गरेको छ । उहाँका अनुसार चितुवाका भाले बच्चा पनि आक्रमक हुन्छन् ।
पोथी हिउँचितुवा धेरै हिँडडुल नगर्ने तर भाले जाति भने लामो दुरीसम्म पुग्न सक्ने भएकाले पनि गोठसम्म आक्रमण गरेको डा. क्षेत्रीले बताउनुभयो । हिउँचितुवाको बसोबास हुने ‘कोर एरिया’ मा आहाराको कमी भएपछि खोज्दै बस्तीआसपासका क्षेत्रमा आउने र लामो समयसम्म आसपासमै बसेर आक्रमण गर्ने गरेकाले सतर्कता अपनाउनुपर्ने एक्याप जोमसोमले जनाएको छ । हिउँचितुवाको मुख्य आहारा झारल, घोरल नाउर, जङ्गली कुकुर, याक, चौँरीलगायत गाउँघरमा पाइने पशुचौपाया रहेको छ । पछिल्लो समय मुस्ताङका बस्तीमा प्रवेश गरी पशुचौपायालाई क्षति पुर्याएर दुःख दिन थालेको भन्दै स्थानीय कृषकले गोठ सुधारसहितका कार्यक्रम माग्ने गरेको ल्होमन्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास केसीले बताउनुभयो ।
मुस्ताङमा हालसम्म हिउँचितुवाको यकिन तथ्याङ्क सङ्कलन भएको छैन । मुस्ताङमा हिउँचितुवाले ल्होमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ क्षेत्रका किसानलाई पशुधनमा क्षति भएको विवरण सङ्कलन गरिएको एक्याप जोमसोमले जनाएको छ । एक्याप जोमसोमका अनुसार आर्थिक वर्ष २०७९/८० मा हिउँचितुवाको क्षति पुगेका १२ कृषकलाई राहत पाँच लाख पाँच सय रुपियाँ वितरण गरिएको थियो । आव २०८०/८१ मा २७ किसानको ३० वटा याक, १९ घोडा, पाँच कुखुरा र दुई घोडालाई हिउँचितुवाले आक्रमण गरी क्षति बनाएको एक्याप जोमसोमका रेन्जर दीपक ओलीले जानकारी दिनुभयो । उहाँका अनु्सार हिउँचितुवाबाट क्षति भए पनि जानकारी नदिएकाको तथ्याङ्क उपलब्ध हुने गरेको छैन ।